शुक्रबार, असार १३, २०८२

सत्तारुढ हुँदै देउवा, वहिर्गमनमा ओली

जसरी ९ पुसमा एमाले अध्यक्ष ओलीले बालकोट निवासमा सात दलीय गठबन्धन निर्माण गरेर कांग्रेसलाई सत्ताबाहिर पुर्‍याउने रणनीति बुनेका थिए, त्यसैगरी कांग्रेसले पनि प्रधानमन्त्री निवास बालुवाटारबाटै प्रचण्डलाई ‘हात’मा लिएर एमालेलाई सत्ताविमुख बनाउने रणनीतिमा सफलता पाएको छ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं– ८ पुसमा तत्कालीन कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई प्रधानमन्त्री नपाएको रिसमा छाडेर एमाले क्याम्पमा हाम फालेका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार एकाएक बदलिए। प्रचण्डमाथि सत्तालाई अस्थिर बनाउने पात्रको आरोप लागिरहेको छ। यसलाई शुक्रबारको बालुवाटार बैठकमा उनले पुनर्पुष्टि गरेका छन्। यद्यपि अहिले फेरिएको सत्ता समीकरणलाई आन्तरिक भनिए पनि दुई छिमेकीको चलखेलले यसमा भूमिका खेलेको बुझ्न कठिन छैन।

कांग्रेस क्याम्प छाडेर एमालेतिर लहसिएका प्रचण्ड एकाएक पुनः पुरानै गठजोडमा जोडिनुलाई राजनीतिक रुपमा लाभ मानिए पनि यसले नेपालमा अस्थिरता निम्त्याउने संकेत देखिँदै छ। जसरी ९ पुसमा एमाले अध्यक्ष केपी ओलीले आफ्नै निवास बालकोटमा सात दलीय गठबन्धन निर्माण गरेर कांग्रेसलाई सत्ताबाहिर पु¥याउने रणनीति बुनेका थिए, त्यसैगरी कांग्रेसले पनि ओलीमाथि सोही रणनीति प्रयोग गरेको देखिएको छ। बालकोटमा प्रचण्डलाई अगाडि सारेर ओलीले कांग्रेसलाई सत्ता वहिर्गमनमा पारेझैं कांग्रेसले पनि प्रचण्डको फेरो समाएर ओलीलाई सत्ता विमुख बनाउन सफल भएको छ।

कांग्रेसले संघीय संसद्मा ठूलो दल भए पनि सत्ताबाट विमुख हुनुपरेको पीडालाई राजनीतिक इगो बनाएर एमालेतिर लहसिएका प्रचण्ड र उनको दल नेकपा माओवादीलाई अलग गर्ने रणनीति २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रमाणित गरिसकेको थियो। कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएलगत्तै एमाले अध्यक्ष ओलीले कटाक्ष गरेका थिए, ‘कांग्रेस सत्ताबिना बाँच्न सक्दैन। पानीबिना माछा नबाँचेझैं कांग्रेस सत्ताको भोको रहन्छ। अब कांग्रेसलाई कुनै पनि हालतमा सत्तामा जान दिइँदैन।’ 

ओली बोलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई झनै झस्कायो। देउवाले प्रधानमन्त्री प्रचण्डलाई निरन्तर भेटिरहे। ८ पुसअघिको गठबन्धनलाई पुनः ब्युँताउन भनिरहे। कांग्रेसलाई २९ माघको सभामुख निर्वाचनमा सहयोग दिने वचन प्रचण्डले देउवालाई दिएकै कारण कांग्रेसले सभामुखमा उम्मेदवारी दर्ता गराएको थियो। तर प्रचण्डले  गठबन्धन बलियो बनाउने रटान लिएर एमाले उम्मेदवारलाई सभामुखमा जिताए। यद्यपि सोही दिन बेलुकी बसेको सत्तारुढ दलको बालुवाटार बैठकमा कांग्रेसलाई समेत निम्तो दिएर प्रचण्डले ओलीसँग बाझाबाझ गर्ने वातावरण बनाइदिए। 

सभामुखमा पराजित हुनुपरे पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई पछ्याउन छाडेनन्। राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन माग्दै कांग्रेस नेताहरू निरन्तर प्रचण्डसँग छलफलमा रहेकै परिणाम १२ फागुनको बालुवाटार बैठकमा सात दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रलाई बाहिर ल्याउने सफलता प्राप्त भयो। कांग्रेसले एमाले नेतृत्वको दुई महिने सत्ता गठबन्धनभित्र समेटिएका नेकपा माओवादी केन्द्र मात्रै नभई सीके राउत, लोसपा, जसपा, नागरिक उन्मुक्ति पार्टीलाई समेत एमालेबाट उछिट्याउन सफलता पाएको छ। कांग्रेसले ८ पुसअघिको पाँच दलीय गठबन्धनलाई पुनजीर्वित गरेर त्यसमा थप तीन दललाई समाहित गरेको छ। २५ फागुनको राष्ट्रपति निर्वाचनमा समेत वरिष्ठ नेता रामचन्द्र पौडेलेको राष्ट्रपति बन्ने चाहनालाई मूर्तरुप दिन कांग्रेस सफल भएको देखिएको छ।

 

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल।

यसबीचमा सात दलीय गठबन्धन बचाउन एमाले अध्यक्ष ओली र प्रचण्डबीच बालुवाटार, सिंहदरबार र बालकोटमा गरी दुई महिनामा करिब ५८ दिन वार्ता भएको रहेछ। यी वार्तामा ओलीले प्रचण्डलाई सत्ता गठबन्धन छाडेर कांग्रेसतिर नजान सचेत गराइरहे। तर प्रचण्डले ओलीको सुझावलाई रद्दीको टोकरीमा हालिरहे। ओलीले अन्तिम पटक एमालेबाटै चोइटिएर नेकपा एसको अध्यक्ष बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई राष्ट्रपतिको निर्वाचनमा अगाडि सारेर आफूतिर ल्याउने कोसिस पनि गरे। तर नेता नेपालले ओलीलाई पुरानो नेकपा ब्युँताउने भए राष्ट्रपति निर्वाचनमा उम्मेदवार हुने अड्को थापेर पुरानै गठबन्धनमा समाहित हुन पुगे। 

 

 

 

७ फागुन बेलुकी अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष नेता नेपालसँगको चार घन्टा लामो भेटमा दुई पार्टी मिलाउने प्रस्ताव राखे। एकीकृत समाजवादीलाई एमालेमा गाभे राष्ट्रपति बनाउने ओलीको प्रस्तावलाई नेता नेपालले अस्वीकार गरे। १० फागुनमा बसेको  नेकपा एसको सचिवालय बैठकमा अध्यक्ष नेपालले भनेका थिए, ‘ओलीले तपाईंको पार्टी एमालेमा मिलाऔं र ठूलो बनाऔं। संसद्को ठूलो दल भएपछि राष्ट्रपति मात्र होइन अरु धेरै गर्न सक्छौं भन्ने प्रस्ताव राख्नुभयो। मैले थप सरसल्लाह आवश्यक पर्छ भन्ने जवाफ दिएँ।’

कांग्रेस, माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धन फुटेर अनपेक्षित रुपमा आफ्नो पार्टी सत्तामा पुगेपछि अध्यक्ष ओलीले एमालेलाई पहिलो पार्टी बनाउने प्रयास सुरु गरेका थिए। त्यसका लागि स्वतन्त्र सांसद र एमालेबाटै फुटेर १० सिट जितेको एकीकृत समाजवादीलाई तान्ने प्रयास गर्दै आएका छन्। अहिले ८९ सांसदसहित कांग्रेस सबैभन्दा ठूलो पार्टी रहेको छ। एमालेका ७८ सांसद छन्। एमालेले १० सिट प्राप्त गरे कांग्रेससँग बराबरी गर्न सक्छ।

जसरी ९ पुसमा एमाले अध्यक्ष ओलीले बालकोट निवासमा सात दलीय गठबन्धन निर्माण गरेर कांग्रेसलाई सत्ताबाहिर पुर्‍याउने रणनीति बुनेका थिए, त्यसैगरी कांग्रेसले पनि प्रधानमन्त्री निवास बालुवाटारबाटै प्रचण्डलाई ‘हात’मा लिएर एमालेलाई सत्ताविमुख बनाउने रणनीतिमा सफलता पाएको छ।

ओलीको यो प्रयासले सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र र सत्तामा जान मुख मिठाइरहेको कांग्रेसलाई थप सशंकित तुल्याएको थियो। प्रचण्डले ओली रणनीति बुझेरै कांग्रेसतिर हाम फालेको हुन सक्ने बताइन्छ। नेता नेपाललाई आफ्नै पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव वेदुराम भुसाल, उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालगायतले पार्टी गाभेर राष्ट्रपति पद लिन नहुने सुझाव दिएका थिए।

पहिलो दल बन्ने ओलीको इच्छा पूरा नहुने मात्र होइन, वर्तमान सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको छ।

एमालेलगायतका दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुसमा प्रधानमन्त्री चुनिएका थिए। त्यसबेला एमालेले पाउने भनिएको राष्ट्रपति पदमा राष्ट्रिय सहमति हुनुपर्ने र कांग्रेलाई दिइनुपर्ने प्रचण्ड अडानका कारण गठबन्धनमा फुट आएको हो। सात दलीय गठबन्धनलाई बचाउन एमाले अध्यक्ष ओलीले बुधबार, बिहीबार र शुक्रबार लगातार तीन दिनसम्म प्रधानमन्त्री प्रचण्डसँग छलफल गरे। शुक्रबारको बालुवाटार छलफलमा पनि दुवै नेता आ–आफ्ना अडानबाट टसमस नभएपछि ओली रिसाएर बाहिरिएका थिए। ओलीसँगको वार्ता सफल नभएको संकेत पाएपछि कांग्रेस सभापति शेरबहादुर देउवासहितको जम्बो टोलीले प्रधानमन्त्री प्रचण्डलाई गत बुधबार नै बालुवाटार पुगेर पुरानो गठबन्धन ब्युँताउन र राष्ट्रपति निर्वाचनमा लचिलो हुन आग्रह गरेको थियो। सोहीअनुसार शुक्रबार बिहान र बेलुकी बसेको बैठकले पुरानो गठबन्धन ब्युँत्याएर आठ दलीय बनाउने र राष्ट्रपतिमा रामचन्द्र पौडेललाई अगाडि सार्ने सर्वसम्मत निर्णय गरेको थियो।

 

वर्तमान सत्ता गठबन्धन । राष्ट्रपतिको निर्वाचनसँगै यो रहनेछैन।

सत्तामा छँदा कलहमा रहिरहने कांग्रेस नेताहरू सत्ताविमुख भएपछि चुपचाप रहने प्रचलन छ। पछिल्लो दुई महिनादेखि सत्ताविमुख भएको कांग्रेस आन्तरिक झगडा नभएपछि एकजुट देखिएको छ। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुअघि र मत दिने निर्णय गर्दा कांग्रेसमा देखिएको मतभिन्नता अहिले शून्य अवस्थामा पुगेको छ। प्रचण्डलाई विश्वासको मत दिने विषयमा इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला सभापति शेरबहादुर देउवाको ‘लाइन’ मा सहमत देखिए पनि इतर समूहबाट निर्वाचित महामन्त्री गगन थापा र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले फरक मत दर्ज गराएका थिए। तर महामन्त्री थापा पछिल्लो समय राष्ट्रपति निर्वाचनका लागि पार्टी सभापति देउवाको लाइनअनुसार वातावरण निर्माण गर्न बालुवाटारदेखि अन्य दलहरूसँगको छलफलमा सक्रिय छन्। राष्ट्रपतिका लागि पार्टीको पक्षमा वातावरण बनाउन सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला एकैसाथ अन्य दलका नेतासँगको संवादमा सहभागी हुँदै आएका छन्। 

 

 

 

कांग्रेसले एकजुट भएर राष्ट्रपति र सत्ता प्राप्तिका लागि गरिरहेको प्रयास सफलतानजिक पुगेको ठानिँदै छ। 

राष्ट्रपति निर्वाचन नजिकिएसँगै एकजुट भएको कांग्रेसमा माघ पहिलो सातासम्म सत्ताबाट बाहिरिनु परेका कारण असन्तुष्टि थियो। सभापति देउवाले तत्कालीन गठबन्धनमा रहेका दलहरूलाई मिलाएर लैजान नसकेको, प्रतिपक्षमा बसेर सरकारलाई समर्थन दिएको भन्दै इतर समूहले आलोचना गरिरहेको थियो। 

संस्थापन इतर समूहको ८ माघको बैठकमा नेता  कोइरालाले सरकारलाई विश्वासको मत दिएर गल्ती भएको अभिव्यक्ति दिएका थिए। तर पछिल्लो समय देउवा, शेखर दुवै पक्षका नेताहरू रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन र एमालेतिर गएको नेकपा माओवादीलाई कांग्रेसतिर ल्याउने प्रयास गरिरहेकै कारण १२ फागुनको बालुवाटार बैठकले सफलता पाएको हो। कांग्रेस पुरानो गठबन्धनलाई पुनः ब्युँताएर सत्तातिर उक्लिनु र एमाले सात दलीय गठबन्धन भत्किएर सत्ता वहिर्गमनमा पर्नुले ओलीले लिएको रणनीतिलाई देउवाले पछ्याएको मान्न सकिन्छ। 

 

प्रकाशित: Feb 25, 2023| 14:05 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...