काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले एमालेबाट राष्ट्रपतिका रुपमा अगाडि सारिएका पूर्वसभामुख सुवास नेम्बाङलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मत हाल्ने दाबी गरेका छन्।
शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा पत्रकारसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डले ९ पुसको बालकोट समझदारीअनुसार एमाले राष्ट्रपति उम्मेदवारलाई भोट हाल्ने वचन दिएको बताएका हुन्।
एमालेले पार्टी उपाध्यक्ष नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै केही बेरअघि उनले मनोनयन दर्ता गराएका छन्। प्रचण्डले एमालेलाई समर्थन गर्ने विषयमा बाहिरबाट दबाब परेको बताएको ओलीको भनाइ छ।
‘समस्या छैन। हामीले १० पुसमै सहमति गरेका हौं। अलिकति प्रचण्डजीले मलाई अप्ठेरो पर्यो, दबाब पर्यो भनिराख्नुभएको छ। उहाँले १० पुसको सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने पक्का छ,’ उनले भने।
उनले शुक्रबार जन्मिएको आठ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्नु भनेको दलका नेतालाई चिया खान बोलाएसरह रहेको कटाक्ष गरे।
कांग्रेस नेता पौडेलले नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेसपाको समर्थनसहित राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएका छन्।