काठमाडौं– स्वतन्त्र उम्मेदवारी दिएर गत वैशाखको स्थानीय तह निर्वाचनमा संघीय राजधानी रहेको काठमाडौं महानगरमा मेयर निर्वाचित भएका बालेन शाहले आफूलाई करकापमा पारेर बलजफ्ती राजीनामा दिन लगाउन खोजिएको बताएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर बालेनले आफूलाई राजीनामा दिन दबाब आएको बताएका हुन्।
मेयर बालेनले जबर्जस्ती राजीनामा दिन दबाब दिने संघ–संगठन वा व्यक्तिबारे भने केही खुलाएका छैनन्।
उनले फेसबुकमा भनेका छन्, ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दै छन्। यो देश कहिल्यै पनि बन्दैन।’
बालेनको स्टाटसमा रिप्लाइ गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आक्रोश पोखेका छन्। 'म यो के देख्दैछु? काम गर्छु भनेर आउनेलाई किन एसरी तनाब दिँदैछन्। पार्टीभन्दा माथि देश हो भन्ने कहिले बुझ्छौ ए झोले हो?' उनले भनेका छन्।
बालेनका समर्थकहरूले कमेन्टमा निर्वाचित मेयर पद कसैले खोस्न नमिल्ने भन्दै आफ्नो काममा अगाडि बढ्न सुझाव दिएका छन्। समर्थकहरूले कसैले राजीनामा माग्दैमा राजीनामा नगर्न पनि सुझाएका छन्।
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा उनी ६१ हजार ७६७ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ र एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका थिए।
भारी मतले विजयी भएका बालेन त्यसयता काठमाडौंमा आक्रामक काम गर्दै आएका छन्। उनले नक्साविपरित निर्माण भएका टहरा भत्काउनुका साथै पार्किङ क्षेत्र पनि व्यवस्थित गरेका छन्।
उनले टुकुचा खोला फर्काउने अभियानमा समेत लागेका थिए। त्यसका लागि विभिन्न ठाउँमा रहेका संरचना भत्काएका थिए। त्यस्तै थापाथलीको सुकुम्बासी बस्ती हटाउन पनि उनी निरन्तर पहल गरिरहेका छन्।
उनले सरकारका सम्बन्धित निकायमा पनि यसबारे पहल गरेका छन्। यी काम गर्दैगर्दा उनीमाथि आलोचना गर्नेहरूको पनि कमी छैन। गरिब मजदुरहरूलाई उठिबास लगाउन खोजेको र पुरानो संरचनाहरू भत्काउन खोजेको भन्दै उनीमाथि एकथरीले आलोचना गर्दै आएका छन्।