काठमाडौं– कांग्रेसबाट राष्ट्रपति पदमा मनोनयन दर्ता गराएका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ एमाले अध्यक्ष केपी ओलीको सहयोग खोजेका छन् ।
शनिबार नेता पौडेलले संघीय संसद् भवन परिसरमा रहेको निर्वाचन कार्यालय परिसरमा राष्ट्रपतिको उम्मेदवारी दिएपछि राष्ट्रपति पदलाई साझा बनाउन एमाले अध्यक्ष ओलीको साथ खोजेका हुन्।
उनले भने, ‘एमाले अध्यक्ष ओली मसँगै जेल बस्नुभएको हो। राष्ट्रपतिलाई राष्ट्रको साझा पद बनाउन उहाँबाट सहयोग अपेक्षा गरेको छु। राष्ट्रपतिको चुनाव हुने दिनसम्म एमालेको समर्थन हुने विश्वासमा छु।’
राष्ट्रपतिमा निर्वाचित भए नेपालको संविधानको अक्षरशः पालना, गणतन्त्र संस्थागत गर्ने र नेपाली जनताको सार्वभौमसत्तालाई बलियो अनि सुरक्षित बनाउने प्रण उनले व्यक्त गरे।
पौडेलले अध्यक्ष ओलीको साथ खोजे पनि एमालेबाट सुवास नेम्बाङ राष्ट्रपतिको उम्मेदवारको मैदानमा छन्। राष्ट्रपति निर्वाचन २५ फागुनमा हुने निर्वाचन आयोगको कार्यतालिका छ।