काठमाडौं– निर्वाचन आयोगले आगामी २५ फागुनका लागि तोकेको राष्ट्रपति निर्वाचनका लागि शनिबार कांग्रेस, एमालेबाट मैदानमा उतारिएका नेताद्वयले मनोनयन दर्ता गराएका छन्। १३ फागुन राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गराउने अन्तिम दिन हो। अहिलेसम्म राष्ट्रपतिमा दुई जना उम्मेदवार बन्ने तय भएको छ।
राष्ट्रपति निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्बाङको उम्मेदवारी परेको हो। पौडेल र नेम्बाङ दुवै प्रतिनिधिसभाका निर्वाचित सांसद हुन्। दुवैको प्रतिस्पर्धामा एक पराजित भए पनि सांसद पद नगुम्ने संवैधानिक व्यवस्था छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रपति पदमा निर्वाचित भएपछि मात्र सांसद पदबाट राजीनामा दिने संवैधानिक व्यवस्था भएकाले सोहीअनुसार निर्वाचित सांसदले राष्ट्रपतिमा उम्मेदवारी दिएर विजेता बने मात्रै सांसदबाट राजीनामा दिन सक्ने व्यवस्था छ।