काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकार गठन पुनगर्ठनको प्रक्रिया सुरु हुने बताएका छन्। राप्रपाका मन्त्रीहरुले राजीनामा दिइसकेको भन्दै उनले एमाले करिब करिब प्रतिपक्षमा गएको बताए।
महेन्द्रनारायण निधि स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले संविधान र संघीय लोकतन्त्र गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँग सहकार्यले संशय पैदा गर्ने भन्दै उनले आफूले सरकार गठनको दुई महिनामै तीतो अनुभव गरेको बताए। ‘जुन गठबन्धनमा छु, यो संविधान र राष्ट्रको हितमा छैन,’ आफू प्रधानमन्त्री भएपछि केही शक्ति हौसिएको भन्दै उनले भने।
संविधानमाथि प्रहार हुन थाल्दा विगतमा पनि पनि कांग्रेस नेतृत्वमा सहकार्य भएको बताउँदै प्रचण्डले शुक्रबारदेखि नयाँ यात्रा सुरु भएको बताए। उनले अगाडि भने, ‘हिजो खुसी र गर्व महसुस गरेँ।’ शुक्रबारमात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटमा आफूले राष्ट्रिय सहमतिको सूत्रधार बन्ने प्रस्ताव राखेको सुनाए।
उनले भने, ‘नेपाली कांग्रेसलाई राष्ट्रपति सहमतिले दिउँ। सबैभन्दा ठूलो पार्टीको राष्ट्रपति हुन्छ, तपाईंको सभामुख भएकै छ, राष्ट्रियसभाको अध्यक्ष पनि छन्। हामी दुबै गएर कांग्रेसलाई राष्ट्रपति तपाईंहरु लिनुस् भन्यौं भने नयाँ राष्ट्रिय सहमति हुन्छ भनको थिएँ। तर उहाँ मान्नुभएन।’ प्रधानमन्त्री प्रचण्डले ८ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेलले लोकतन्त्र र राष्ट्को हितमा कसैसँग सम्झौता नगर्ने विश्वास समेत व्यक्त गरे।