पोखरा- केन्द्रको समीकरण फेरिएसँगै गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा)का मन्त्रीले सरकारबाट बाहिरिने संकेत गरेका छन्। नेकपा एमाले नेतृत्वको सरकारबाट राप्रपाका मन्त्रीले बाहिरिने संकेत गरेसँगै सरकार समस्यामा पर्ने देखिएको छ।
सत्तारुढ दल राप्रपाका मन्त्रीहरूले केन्द्रमा राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै त्यसको असर गण्डकीमा पनि परेको हो। गण्डकी प्रदेश सभामा राप्रपाबाट दुई जना सांसद रहेकोमा पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्री छन्। अर्का सांसद बिन्दु पहाडी हुन्।
राप्रपाले केन्द्र र प्रदेशमा सरकारमा नरहने निर्णय गरिसकेको छ। उसले सरकारलाई दिएक समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ।
उता गण्डकी प्रदेश राप्रपा संसदीय दलका नेता एवं मन्त्री पञ्चराम गुरुङले केन्द्रको निर्णयलाई आत्मसाथ गर्ने बताइसकेका छन्। उनले सम्भवत आज नै राजीनामा बुझाएर सरकारबाट बाहिरिने संकेत गरेको छ।
सत्तारुढ राप्रपा सरकारबाट बाहिरिएपछि एमाले नेतृत्वको सरकार संकटमा पर्नेछ। गण्डकीमा गत २५ पुसमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी एमाले, माओवादी, राप्रपा र एकीकृत समाजवादीका १ सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधान १६८ (२) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। संसदमा विश्वासको मत लिंदा ३१ सदस्यले पक्षमा मतदान दिएका थिए।
६० सदस्यीय प्रदेश सभामा ३६ सिट प्रत्यक्ष तथा २४ सिट समानुपातिक निर्वाचन प्रणालीबाट सदस्य चुनिएका छन्। जसमध्ये नेपाली कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो पार्टी हो । दोस्रो स्थानमा रहेको एमाले २२, माओवादी केन्द्र ८, राप्रपा २ र स्वतन्त्र १ प्रदेश सदस्य छन्। बहुमतका लागि ३१ सिट आवश्यक पर्छ।
प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने गरी शुक्रबारमात्र एमाले गठबन्धनबाट पुरानै गठबन्धनमा फर्किएपछि राजनीति नयाँ शिरामा गएको हो।