काठमाडौं– नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी शक्तिसँग मिलेर जान रहे पनि अन्यत्र पार्टीमा विलय नहुने बताएका छन्।
सोमबार मधेस प्रदेश मुकाम जनकपुरधाम आएका नेता नेपालले पत्रकारसँगको भेटमा एजेन्डा मिल्नेसँग सहकार्य गर्न तयार रहे पनि नेकपा एस कुनै पार्टीमा विलय नहुने दाबी गरेका हुन्।
नेता नेपालले मुलुकका समस्या समाधान गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
उनले भने, ‘देशमा चुनौतीपूर्ण समस्या देखिएका छन्। ती समस्या समाधान गर्न सबै राजनीतिक दल एकजुट हुनैपर्छ। एमालेलगायत सबै राजनीतिक दलहरू मिलेर जानुबाहेक अर्को विकल्प छैन।’
आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका समाचार अनुमान मात्रै रहेको उनको दाबी छ।
संकटका बेलामा सबै दलहरूले हातेमालो गरेर अगाडि बढे राजनीतिक स्थिरता दिन सकिने उनको भनाइ छ।