काठमाडौं– ९ पुसमा सात दलीय गठबन्धन निर्माण गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको सत्तारुढ एमाले अन्ततः सरकारबारि बाहिरिने भएको छ।
सोमबार मुख्यालय च्यासलमा बसेको आकस्मिक बैठकपछि एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष विष्णु पौडेलले बताए।
उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले १० पुसमा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर नभएको देखिएपछि एमाले बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए।
‘सरकार छाड्न, नत्र सरकारबाट हटाउने वा बिनाविभागीय मन्त्रीसम्म बनाउने प्रधानमन्त्रीको निरन्तर टिप्पणीका कारण यो सरकारमा बसिरहनु उचित हुने देखेनौं’, उनले भने।