काठमाडौं– सत्तारुढ एमालेले सत्ता त्याग्ने निर्णय गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार दुई महिना चार दिनमै अल्पमतमा परेको छ।
१० पुसमा ३ स्वतन्त्रसहित ७ दलीय गठबन्धनबाट १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको सरकार एमालेले समर्थन फिर्ता गर्ने निर्णय गरेपछि अल्पमतमा परेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले र राप्रपा बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्डको सरकार अल्पमतमा परेको हो।
प्रधानमन्त्री प्रचण्डले आइतबार परराष्ट्रमन्त्री विमला राई पौड्याललाई संयुक्त राष्ट्रसंघको महासभामा जान लाग्दा रोकावट गरेर अपमान भएको, एमालेबाट मन्त्री बनाइएकालाई बिनाविभागीयमा झार्न लागिएको बताउँदै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए।
१० पुसमा ३ स्वतन्त्रसहित ७ दलीय गठबन्धनबाट १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको सरकार एमालेले समर्थन फिर्ता गर्ने निर्णय गरेपछि अल्पमतमा परेको हो।
पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डले एमाले र एमालेले प्रतिनिधित्व गरेका मन्त्रीप्रति गरेको व्यवहार र टिप्पणीका कारण सरकारबाट बाहिरिन बाध्य भएको बताए। उनले भने, ‘राष्ट्रपतिको निर्वाचनमा सहमति नभए पनि सरकारलाई सहयोग गरेर काम गर्ने सोचमा हामी थियौं। तर पछिल्ला दिनमा प्रधानमन्त्री प्रचण्डले एमाले र एमालेबाट प्रतिनिधित्व गरेका मन्त्रीप्रति गरेको अभिव्यक्ति र व्यवहारले सरकार छाड्ने निर्णयमा पुग्यौं।’
संसद्मा एमालेको ७८ सांसद छन्। आइतबार राप्रपाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने शनिबार सरकारमा सहभागी चार मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा पत्र बुझाएका थिए।
एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि अब सरकार बनाउन साथ दिएका दलको सिट संख्या ७७ मात्र छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले भने हालका लागि सरकारलाई दिइएको समर्थन फिर्ता नलिइने बताएको छ।
१२ फागुनमा कांग्रेस, माओवादी, नेकपा एसलगायत ८ दलको नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारलाई एमालेले समर्थन फिर्ता लिने अड्कलबाजी गरिँदै आएको थियो।
प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा संघीय सदनमा कांग्रेससहित २६८ सांसदले विश्वासको मत दिएका थिए। त्यतिबेला चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा र नारायणमान बिजुक्छे अध्यक्ष रहेको नेमकिपाले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मत दिएका थिए।
सात दलीय गठबन्धन भत्किएर आठ दलीय गठबन्धमा समाहित हुन पुगेका प्रधानमन्त्री प्रचण्डले संसद्मा अब विश्वासको मत लिनुपर्नेछ। यद्यपि यसबारे पनि कानुनविद्बीच मतक्यै रहँदै आएको छ।
आठ दलीय गठबन्धनबाट समर्थन जुट्न सक्ने भए पनि प्रचण्डले तत्कालै विश्वासको मत लिने सम्भावना रहेको बताइन्छ।
एमालेसँग अकस्मात गठबन्धनमा जोडिएका प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति निर्वाचनको समय कांग्रेसतिर लहसिएका छन्। सोही कारण एमाले प्रधानमन्त्रीसँग रिसाएर सरकारबाटै बाहिरिएको हो।