काठमाडौं– राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सनाले संसद् बैठक बसिरहेका बेला जनसरोकारका विषयमा छलफल हुने भएकाले सांसदहरुलाई मोबाइल फोन नचलाउन रुलिङ गरेका छन्।
सभाध्यक्ष तिमिल्सनाले मोबाइलबाट सामाजिक सञ्जालका गतिविधिमा नजर लगाउने, गीत सुन्ने, नागरिकका समस्यालाई नजरअन्दाज गर्ने क्रम बढेपछि मोबाइल स्वीच अफ गर्न वा साइलेन्स मोडमा राख्न रुलिङ गरेका छन्।
सोमबारको राष्ट्रिय सभा बैठकमा निवर्तमान हुँदै गरेकी परराष्ट्रमन्त्री विमला राई पौड्यालले जेनेभा बैठक रोकिएको कारणबारे जानकारी दिइरहेका बेला सांसदहरु मोबाइलमा व्यस्त भएको देखिएपछि सभाध्यक्षले स्वीच अफ गर्न रुलिङ गरेका हुन्।
सभाध्यक्षले रुलिङ गरिरहेका बेलै कतिपय सांसदको मोबाइलमा आएको फोनको घन्टीले ‘डिस्टर्ब’ गरेको देखिन्थ्यो।
‘बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न अध्यक्षले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ’, राष्ट्रिय सभा नियमावलीको परिच्छेद ६ मा भनिएको छ।