काठमाडौं– सात दलीय गठबन्धनमा आबद्ध मुख्य सत्ता सहयात्री एमालेले सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु १६ मन्त्रालय सम्हाल्ने जिम्मेवारी थपिएको छ।
एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै तीन दलका भागमा परेका मन्त्रालय प्रधानमन्त्री प्रचण्डको जिम्मामा आएका हुन्।
एमाले र राप्रपाले सरकारबाट बाहिरिनुका साथै समर्थन फिर्ता लिइसकेका छन् भने रास्वपाको आज बसेको बैठकले हाललाई समर्थन फिर्ता नलिने निर्णय गरेको छ। राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रचण्डको काँधमा आठ मन्त्रालय थिए।
प्रचण्डले प्रधानमन्त्रीसहित गृह, वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा जलस्रोत तथा सिँचाइ, सहरी विकास र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्दै आएका थिए।
आज मात्रै एमाले सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई थप आठ मन्त्रालयको जिम्मा लिनुपर्नेछ। प्रधानमन्त्री प्रचण्डले एमाले भागका अर्थ मन्त्रालय, कृषि तथा पशुपक्षी, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र रक्षा मन्त्रालयको जिम्मा लिनुपर्नेछ।
सात दलीय गठबन्धन दलमध्ये जसपा, नेकपा एस, नागरिक उन्मुक्ति प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छैनन्। हाल प्रचण्ड नेतृत्वको सरकारमा माओवादी र जनमत पार्टी मात्रै छन्।
९ पुसमा एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा जन्मिएको सात दलीय गठबन्धन आजदेखि औपचारिक रुपमा दुई दलीयमा समेटिएको छ।