बिहीबार, असार १२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राजसंस्थालाई अभिभावकीय भूमिकामा पुनर्स्थापित गर्न रवीन्द्र मिश्रको सुझाव

राजसंस्थालाई अभिभावकीय भूमिकामा पुनर्स्थापित गर्न रवीन्द्र मिश्रको सुझाव

११ वैशाख २०६३ मा आफूलाई जनतासामु समर्पण गरिसकेका राजा ज्ञानेन्द्रलाई विदेशीको खेल र ‘प्रचण्डीकरण’को भेलमा राजसंस्थालाई नामेट पारिएको मिश्रको आरोप।
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्था एवं पूर्वराजा ज्ञानेन्द्र शाहलाई क्षमा दिएर अभिभावकीय भूमिकामा पुनस्र्थापित गर्नु देश हितमा रहेको दाबी गरेका छन् । 

मंगलबार पूर्वराजा ज्ञानेन्द्रसँग दोस्रो पटक भेटेको तस्बिर सार्वजनिक गर्दै मिश्रले राजनीतिक दलहरूसँग सहकार्यका लागि उनी तयार रहेको जानकारी दिए।   

पूर्वराजा ज्ञानेन्द्रसँगको भेटपछि मिश्रबाट व्यक्त प्रतिक्रियाः
करिब दुई महिनापछिको दोस्रो भेट!

१२ बुँदे सहमतिमा राजतन्त्रको ‘निरंकुशता’ को अंश मात्र हटाउने भनिएको थियो। उनले जनताको चाहनाअनुरूप त्यतिबेलै (११ वैशाख २०६३ मा) ‘निरंकुशता’ त्यागिदिए।

अर्को शब्दमा भन्नुपर्दा उनी आफूलाई जनतासामु समर्पण गरिसकेका राजा थिए। भीषण युद्धमा पनि आत्मसमर्पण गरेको सेनालाई मारिँदैन। तर विदेशीको खेल र ‘प्रचण्डीकरण’को भेलमा तत्कालीन आठ राजनीतिक दलले समर्पण गरिसकेको राजसंस्थालाई नै मारिदिए।

त्यतिबेला र त्यसपछि धेरै मानिसले २०५२ मा सुरु भएको माओवादी आन्दोलन, हत्या, हिंसा र त्यसपछि विकसित घटनाक्रममा मूलतः अहिलेका प्रमुख नेता र पार्टीमा निहित चरम स्वार्थपरकता, भ्रष्टता, अक्षमता र देशभक्तिको अभाव जिम्मेवार थियो भन्ने बिर्सिए। यस्तो भाष्य बनाइयो कि यो देशको सम्पूर्ण दुःखको कारक राजसंस्था र राजा ज्ञानेन्द्र हुन्। उनलाई यसरी दानवीकृत गरियो कि त्यो बयान गरिसाध्य छैन।

तर राजा ज्ञानेन्द्रमा ती घटनाक्रम र देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि भए पनि उनले आफ्नो भद्रता र राजकीय गरिमालाई कहिल्यै कम हुन दिएनन्। मेरो पछिल्ला दुई भेटमा उनमा ‘निरंकुशता’ होइन, यो देशको दूरगामी हितका लागि ‘मेलमिलाप’ को बाहेक मैले अन्य कुनै भाव पाइनँ।

यस पटकको भेटमा उनले (पूर्वराजा) भने, ‘मैले विज्ञप्तिमै ‘देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र राजसंस्था एक ठाउँमा आउनैपर्छ’ भनेर भनिसकें नि।’

जसले जति नै गाली गरोस्, वास्तविकता के हो भने अमेरिका र चीनबीच बढ्दो दरार, भारत र चीनको विश्व शक्तिमा रूपान्तरण, नेपालमा ‘एक गाऊँ, एक चर्च’ को अभियान, जातीय क्षेत्रीय संवेदनशीलता, पाएसम्म सबैले सबैलाई ‘ढोक्सा’ थापेर फसाउने राजनीतिक प्रवृत्ति र समग्र समाजको चरम नैतिक पतनका कारण देश बढ्दो रूपमा संकटउन्मुख छ।

कमसेकम एउटा संस्था (राजसंस्था) लाई विगतका गल्तीप्रति क्षमा दिएर अभिभावकीय भूमिकामा पुनस्र्थापित नगर्ने हो भने यो देशमा संकटका बेला सहारा लिने कुनै संस्था बाँकी रहने छैन। रिस–राग, अहं, प्रतिशोध, आक्रोश र व्यक्तिगत ‘विचारभन्दा माथि देश’लाई नराख्ने हो भने हाम्रा भावी पुस्ता पाएसम्म या त देशमै बस्ने छैनन् या तिनले देशभित्र धेरै नै दुःख पाउनेछन्।

समयमै विचार गरौं। ढिलो गरी आएको चेतना विध्वंसपछि प्राप्त विवेकजस्तै अर्थहीन हुनेछ। विचारभन्दा माथि देश।

प्रकाशित: Feb 28, 2023| 14:50 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...