काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले पुरानो गठबन्धनलाई ब्युँताउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आँट र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको चौडा छातीले काम गरेको बताएका छन्।
बिहीबार राष्ट्रपति चुनावका लागि आठ दलमा आबद्ध संघीय सांसदको प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन्। देउवाले आगामी राष्ट्रपतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल उपयुक्त पात्र भएको दाबी गरे।
उनले भने, ‘नेता पौडेल पुराना साथी भए पनि सभापतिले केही दिएन भन्ने गुनासो सुनिन्थ्यो। राष्ट्रपति बनाएपछि उहाँबाट सुनिने गुनासो हट्छ।’
कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पौडेललाई राष्ट्रपतिमा मतदान गर्ने निर्णय पार्टीले गरिसकेको बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले पौडेललाई राष्ट्रपति निर्वाचित गराउन नेकपा माओवादीबाट सक्दो सहयोग रहने जानकारी दिए। उनले भने, ‘चुनावका बेला रामचन्द्रजीको निर्वाचन क्षेत्रमा गएर प्रधानमन्त्री हुने नेता हो भनेको थिएँ। उहाँ राष्ट्रपति हुने पक्का भयो। उहाँले संविधानको रक्षा गर्न सक्नुहुन्छ।’