काठमाडौं– गृह मन्त्रालयले पछिल्लो समय बैंक, लघुवित्त र सहकारी संस्थाबाट ऋण लिएका ऋणीले समयमै चुक्ता गर्नुको साटो आन्दोलनमा उत्रिएपछि वित्तीय संस्थामा विशेष सुरक्षा प्रबन्ध मिलाउन परिपत्र गरेको छ।
सरकारले देशभरका बैंक तथा वित्तीय संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासनमा परिपत्र गरेको हो।
खराब ऋणमा संलग्न, बैंकिङ कसुर र ठगीमा संलग्नले आफूले लिएको कर्जा तिर्नुको साटो वित्तीय संस्थामाथि आक्रमण गर्न थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी मुख्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको हो।
बैंक, लघुवित्त, सहकारीलगायत संस्थामाथि निशाना बनाएर हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण र सावधानीका लागि सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको गृहका प्रवक्ता जितेन्द्र बस्नेतले बताए।
उनले भने, ‘बैंक तथा वित्तीय संस्था लक्षित गरेर हुनसक्ने उच्शृंखल, अराजक र अवाञ्छित गतिविधिप्रति सजग रहन र कानुन हातमा लिनेलाई कारबाही गर्न निर्देशन दिइएको हो। आन्दोलन गर्ने समूहमा घुसपैठ हुन सक्नेप्रति सुरक्षा निकायले उच्च सतर्कता अपनाउन जरुरी छ।’
केही दिनअघि मात्रै झापाका व्यवसायी दुर्गा प्रसाईंले सार्वजनिक कार्यक्रममै कालोमोसो दल सार्वजनिक गरेका थिए। उनले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीलाई कालो मोसो दलिने अभिव्यक्ति दिएपछि सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्न थालेको हो।