धनगढी- यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको माओवादी केन्द्रले सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमति मागेको छ। माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्री शाहलाई भेटेर लिखित प्रतिबद्धता मागेका हुन्।
मुख्यमन्त्रीसँग भेटेर आफ्नो पार्टीको संसदीय दलले गरेको निर्णयका सम्बन्धमा जानकारी गराएको उनले बताए। मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालयको भागबन्डाको कुरा प्याकेजमै टुंग्याउनुपर्छ भन्नेमा माओवादी प्रस्ट रहेको उनले बताए। मुख्यमन्त्री शाहले त्यसपछि भने छलफलका लागि नबोलाएको नेता भट्टको भनाइ छ ।
माओवादी केन्द्रले लिखित सहमति खोजेपछि मुख्यमन्त्री शाहले सबै कुरा आफ्नो तहबाट टुंगो लगाउन नसक्ने भएकाले पार्टी नेतृत्वसँग छलफल गर्ने जवाफ दिएका थिए।
सत्तारुढ गठबन्धनको प्रमुख घटक माओवादी र नागरिक उन्मुक्ति पार्टीले लिखित प्रतिबद्धता खोजेपछि आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारीमा रहेका शाह समस्यामा परेका छन्।