काठमाडौं- एमाले नेतृत्वको ९ पुसको बालकोट गठबन्धन भत्किएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई साथ र समर्थन नदिई बाहिरिएका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी समाचार तयार पारुन्लेज राष्ट्रपतिमा कसलाई भोट दिने भन्नेमा अन्योलमै रहेका छन्। राप्रपाले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भनेर कित्ता छुट्याउन २४ फागुनमा बैठक बस्ने तयारी भइरहेको पार्टी राजेन्द्र लिङ्देनले बताएका छन्।
एमाले मतबाटै सांसद निर्वाचित र उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्रालयको जिम्मा पाएका लिङ्देन नेतृत्वको राप्रपाले पूर्वसभामुख सुवास नेम्बाङलाई नै राष्ट्रपतिमा मत खसाल्ने अड्कलबाजी भइरहेका छन्। तर अध्यक्ष लिङ्देन अहिलेसम्म राष्ट्रपतिमा मतदानबारे निर्णय नभइसकेको दाबी गर्छन्।
राष्ट्रपति निर्वाचनमा कुन पार्टीका उम्मेदवारलाई भोट हाल्ने भन्ने अन्योलमा राप्रपा मात्रै होइन, रवि लामिछाने नेतृत्वको रास्वपा पनि अनिर्णीत रहेको देखिन्छ। राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवास नेम्बाङले सबैजसो दलसँग मत मागेका छन्।
पौडेलले एमालेसहितका संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग मत मागिरहेका छन्। ती दलका मुख्यालय पुगिरहेका छन्। नेम्बाङले पनि कांग्रेससहितका सबै दलसँग राष्ट्रपति निर्वाचनका लागि मत माग्दै दौडधुप गरिरहेका छन्।
राष्ट्रपति निर्वाचनको समयअघि ४८ मौन अवधि सुरु भइसकेको छ। यतिबेलासम्म संसद्को चौथो शक्ति रास्वपा र पाँचौं शक्ति राप्रपाले कसलाई भोट दिने भन्नेबारे अझै निर्णय लिन सकिरहेका छैनन्। यद्यपि रास्वपाको केही दिनअघि बसेको बैठकले प्रचण्ड सरकारमाथिको समर्थन कायमै राख्ने निर्णय गरेको थियो। तर उक्त बैठकले राष्ट्रपतिमा कसलाई भोट हाल्ने भन्नेबारे कुनै निर्णय लिएको थिएन।
राष्ट्रपति निर्वाचनमा रास्वपाको २ हजार ४५० र राप्रपाको १ हजार ५०१ एक मतभार छ।
यी दुवै दलका मत सुरक्षित गर्न कांग्रेसबाट राष्ट्रपतिका प्रत्यासी पौडेल र नेम्बाङले भेटघाटलाई बढाउँदै लगेका थिए। रास्वपा र राप्रपा नेतासँगका भेटमा पौडेल र नेम्बाङ दुवैलाई कसैले मतको वचन दिएका छैनन्।
रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन कायमै राखेकाले गठबन्धनका उम्मेदवार पौडेललाई मत दिने आठ दलीय नेताहरूको विश्वास छ। सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिए पनि राप्रपा एमालेको उम्मेदवारको समर्थक र प्रस्तावक नरहेकाले पौडेलतर्फ मत आउने आश आठ दलको छ।
सात दलीय गठबन्धनमा रास्वपालाई गृह मन्त्रालय दिलाउन भूमिका खेलेको र सर्वोच्च अदालतको नागरिकता विवादमा मुछिएका पार्टी सभापति लामिछानेको राजीनामापछि पुनः सो मन्त्रालय उनैलाई दिनुपर्ने अडान लिएकाले नेम्बाङलाई मत दिने विश्वामास एमाले र अध्यक्ष केपी ओली रहेका छन्।
सात दलीय गठबन्धनबाट प्रधानमन्त्री प्रचण्डको सरकारमा रहेर बाहिरिएका राप्रपा र रास्वपाबाट राष्ट्रपतिको मत पाउनेमा पौडेल–नेम्बाङ ढुक्क। अध्यक्ष केपी ओलीकै पहलमा निर्वाचन जितेका लिङ्देन र गृह मन्त्रालयको जिम्मा पाएका रविले दायाँबायाँ नगर्ने विश्वासमा एमाले।
२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदै छ भने राप्रपाले एक दिनअघि र रास्वपाले निर्वाचनकै दिन टुंगो लगाउने तयारी गरे पनि मत कसलाई हाल्छन् भन्ने टुंगो भने हालसम्म लागेको छैन। अझ राप्रपाभित्र ‘नो भोट’ अभियानै चलाइएकाले राष्ट्रपति निर्वाचनमा मत नै वहिष्कार हुने हो कि भन्ने थप शंका उब्जिएको छ।
१३ फागुनमा राष्ट्रपतिमा उम्मेदवारी दर्ताअघि पौडेलले रास्वपा अध्यक्ष लामिछानेलाई निवासमै पुगेर भोटका लागि आग्रह गरेका थिए। १७ फागुनमा नेम्बाङसहित राष्ट्रपतिमा मतदान गर्ने सबै सांसदलाई पत्र लेखेर मत मागेका थिए। १९ फागुनमा पौडेलसहितका कांग्रेस नेताले वसुन्धरास्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेर औपचारिक रूपमा राष्ट्रपतिमा मत दिन आग्रह गरेका थिए।
कांग्रेस मुख्य सचेतक रमेश लेखक रास्वपा सभापति लामिछानेले पौडेललाई राष्ट्रपतिमा मत हाल्ने वचन दिइसकेको दाबी गर्छन्। रास्वपा संसदीय दलका नेता डोलप्रसाद अर्यालले राष्ट्रपति निर्वाचनको दिन मात्रै कसलाई मत दिने भन्नेबारे निर्णय लिइने बताए। उनले भने, ‘दुवै उम्मेदवारले हामीसँग मत मागेका छन्।
कसलाई मत दिने भनेर पार्टीभित्र छलफल भएको छैन। राष्ट्रपति निर्वाचनको दिन नै छलफल गरेर निर्णय लिन्छौं। हेरौं, त्यतिन्जेलसम्म के हुन्छ?’
२२ फागुनमा पौडेललाई मत माग्दै आठ दलीय गठबन्धनका नेताहरू राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर थिए। त्यतिबेला पौडेलले राप्रपा अध्यक्ष लिङ्देनसँग आफूलाई राष्ट्रपतिमा भोट दिन आग्रह गरेका थिए। तर लिङ्देनले पार्टीमा छलफल गरेर मात्रै अन्तिम निष्कर्षमा पुगिने धारणा रामचन्द्रलाई सुनाएका थिए।
भेटमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का भन्छन्, ‘मौन अवधिको पूर्वसन्ध्यामा राप्रपासँग छलफल भयो । हामीले मतका लागि गरेको आग्रहअनुसार पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जानकारी गराउनुभएको छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राप्रपा सबै विकल्पमाथि छलफल गरेर २४ फागुनमा टुंगोमा पुग्ने बताए। उनले भने, ‘राष्ट्रपतिका दुवै उम्मेदवारले हामीसँग मत माग्नुभएको छ। छलफलका लागि २४ फागुनमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छौं। सोही दिन राप्रपाको धारणा सार्वजनिक गर्छौं।’
राष्ट्रपति मंगलबारबाट मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार २५ फागुनमा हुने निर्वाचनको ४८ घन्टाअगाडि मौन अवधि लागू भएको हो।
निर्वाचनको ४८ घन्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहितामा व्यवस्था छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार मौन अवधि २२ फागुनको राती १२ बजेबाट लागू भएको हो। २५ फागुन बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यतालिका छ।