काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी ६ चैतमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने मिति पक्का भएको छ।
प्रधानमन्त्री प्रचण्डले शीर्ष तहमा छलफल गरेर ६ चैतमा विश्वासको मत लिन लागेका हुन्। एमाले र राप्रपाले समर्थन फिर्ता लिएर सरकार छाडेपछि प्रधामन्त्री प्रचण्डले पुनः विश्वासको मत लिने तयारी गरेका हुन्।
प्रतिनिधिसभाबाट विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसलाई सरकारमा भित्र्याउनेछन्। यद्यपि हालसम्म मन्त्रालय बाँडफाँटबारे टुंगो लागिनसके पनि प्रचण्डले सात दलीय गठबन्धन हुँदा एमाले भागमा परेका मन्त्रालय कांग्रेसलाई जिम्मा लगाउने बुझिएको छ।
एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले गत २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए। त्यतिबेला प्रचण्डलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा र नारायणमान बिजुक्छे नेतृत्वको नेमकिपाले विश्वासको मत दिएका थिएनन्।
प्रतिनिधिसभामा प्रतिपक्षी रहेको कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको थियो। कांग्रेसको विश्वासको मत पाएसँगै प्रचण्डले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी समीकरण भत्काउने अभियान थालेका थिए।
प्रचण्ड सरकारमा एमालेबाट ८ मन्त्रालयको जिम्मा आठै जना मन्त्रीले गत १५ फागुनमा राजीनामा दिएसँगै सात दलीय गठबन्धन औपचारिक रुपमा भत्किएको थियो। यद्यपि सात दलमध्ये सीके राउतको पार्टी जनमत अहिले पनि सरकारमा छ। जनमत पछिल्लो समय कांग्रेस नेतृत्वको ८–९ दलीय गठबन्धनमा सहभागी छ।
यस्तै, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, उपेन्द्र यादव नेतृत्वको जसपा र रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी प्रचण्डको सरकारमा सहभागी नभए पनि कांग्रेस समर्थक दलीय गठबन्धनमा आबद्ध छन्।
राप्रपाले १३ फागुन र एमालेले १५ फागुनमा सरकार छाडेका थिए । राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको मितिबाट ३० दिनभित्र अर्थात् १३ चैतसम्म प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषद् विस्तार गरेर कांग्रेसलाई औपचारिक रुपमा सरकारमा सहभागी गराइनेछ। बुधबार मुख्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रकाशरण महतले प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै कांग्रेस सरकारमा सहभागी हुने सूचना चुहाएका हुन्।
उनले भने, ‘आजको बैठकमा यस विषयमा छलफल नभए पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनासाथ कांग्रेस सरकारमा जान्छ।’ आजको बैठकमा उपराष्ट्रपति निर्वाचन, चितवन २ र तनहुँ १ को उपनिर्वाचनबारे छलफल केन्द्रित रहेको उनले जानकारी दिए।
चितवन २ रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणमा दोषी पाइएपछि रिक्त रहेको चुनावी क्षेत्र हो भने तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेले राष्ट्रपति निर्वाचित भएपछि रिक्त भएको क्षेत्र हो।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि राष्ट्रपति निर्वाचनका बेला बनेको नयाँ गठबन्धनको मुख्य घटक कांग्रेसलाई मन्त्रालयका विभिन्न जिम्मेवारी सुम्पिइनेछन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल ९ दलीय गठबन्धनका शीर्ष नेताबीच ६ चैतमै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेबारे भइरहेको छलफलले मिति पक्का गरेको बताउँछन्। प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कांग्रेसलाई सरकारमा भित्र्याउने योजनामा प्रधानमन्त्री रहेको उनको भनाइ छ।
५ चैतमा संसद् बैठक बोलाइएको छ। प्रतिनिधिसभा बैठक बस्नुअघि प्रतिपक्ष बेन्चमा कुन दल बस्ने भन्ने अन्योल हटाउने विषयमा पनि ९ दलीय गठबन्धनका शीर्ष नेताहरूले छलफल गरिरहेको गजुरेलले बताए। एमालेले सरकार छाड्नासाथ प्रतिपक्षी बेन्चमा बस्ने निर्णय लिइसकेको छ भने सरकारमा सहभागी नहुन्जेल विपक्षी बेन्चमै बस्ने बताएर कांग्रेस अड्को थाप्दै आएको छ।
सात दलीय गठबन्धनमा प्रधानमन्त्री हुँदा एमाले अध्यक्ष केपी ओलीले सरकार सञ्चालनमा हस्तक्षेप गरेको आरोप लगाएर कित्ता फेरेका प्रचण्ड यतिबेला कांग्रेसको मार्गचित्रअनुसार हिँडिरहेका छन्। बुधबारको कांग्रेस बैठकमा प्रवक्ता महतले त्यसको संकेत गरेका हुन्। महतले उपराष्ट्रपतिको निर्वाचनपछि सरकारमा जानेबारेको निर्णय प्रचण्डलाई सुनाइने बताए। त्यसपछि कांग्रेस सरकारमा सहभागी हुने उनको दाबी छ।