काठमाडौं- यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा राप्रपा तटस्थ बस्ने भएको छ।
बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने, तटस्थ बस्ने निर्णय गरेको हो। उपराष्ट्रपति निर्वाचन यही चैत ३ गते हुँदैछ।
यसअघि राष्ट्रपतिको निर्वाचन पनि राप्रपाले मतदान गरेको थिएन। फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले निर्वाचित भएका थिए। राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार थिए।
यसैगरी बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय र अनुचित रहेको निष्कर्ष निकालेको छ। यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपूर्तिको व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ। रासायनिक मलका सम्बन्धमा पार्टीको ७७ वटै जिल्ला समितिले एक हप्ताभित्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसैगरी हाल बैंकहरुबाट ब्याज बढ्न थालेकाले साना उद्योगी, व्यवसायी, किसान लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा ठूलो र नकारात्मक असर परिरहेको भन्दै राप्रपाले बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुसँग उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न, अस्वाभाविक रुपमा बढेको ब्याज घटाउन र देशमा वित्तीय सन्तुलन कायम राख्न सरकारको ध्यानाकर्षण गराएको छ।
साथै बैंकको ब्याजदरकै विषयमा आन्दोलनरत व्यवसायीहरुको माग तत्काल सम्बोधनका लागि पनि सरकारसँग राप्रपा बैठकले माग गरेको छ।