काठमाडौं– निर्वाचन आयोगले ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनको तयारी पूरा भएको जनाएको छ। आयोगले शुक्रबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उपराष्ट्रपति निर्वाचनका लागि मतदान हुने बताएको छ।
प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेशसभा सदस्यले उपराष्ट्रपति चयनका लागि मतदान गर्न सक्नेछन्। उपराष्ट्रपतिका लागि १० दलीय गठबन्धनमा आबद्ध जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेका छन्। जनमत र जसपा सत्ता गठबन्धनमै रहे पनि उपराष्ट्रपतिका लागि हालसम्म सहमति जुट्न सकेको छैन।
आयोगको ध्यानाकर्षण
निर्वाचन आयोगले ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि प्रचार–प्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ।
उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आएका सन्दर्भमा आज आयोगले प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएको हो।
आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनकोे ४८ घन्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचार–प्रसार निषेधको अवधि लागू भइरहेको विज्ञप्तिमार्फत स्मरण गराएको छ।
बिहीबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा यस अवधिमा निर्वाचन प्रचार–प्रसारलगायत कुनै पनि प्रकारका बैठक, छलफल, अन्तक्र्रिया, सभा गर्न नपाइने उल्लेख छ।
यसैगरी सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न नपाइने विज्ञप्तिमा भनिएको छ। आयोगले मतदानमा सहभागी भई स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यलाई आग्रह गरेको छ।