मंगलबार, जेठ ७, २०८२

स्वर्णिम वाग्लेलाई रास्वपाले टिकट दिने चर्चापछि कांग्रेसमा तरंग

वाग्लेलाई कांग्रेसबाट बाहिरिन नदिन महामन्त्रीद्वयले सम्भावित विकल्प र अरु अवसरबारे सोच्न सभापति देउवासँग आग्रह गरेका छन्।
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

काठमाडौं- अर्थशास्त्री एवं योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी १० वैशाखमा हुने तय भएको उपनिर्वाचनमा उम्मेदवार बनाउने प्रस्ताव गरेको खबर बाहिरिएसँगै कांग्रेसभित्र तरंग उब्जिएको छ। कांग्रेस समर्थक अर्थशास्त्री वाग्लेलाई रास्वपाले रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त तनहुँ-१ बाट उम्मेदवारको प्रस्ताव गरेको हो।

रास्वपाको उक्त प्रस्ताव बाहिरिएपछि मन्त्री छनोट र उपनिर्वाचनको विषयमा आज मुख्यालय सानेपामा बसिरहेको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासहितका नेतासँग वाग्लेलाई कांग्रेसमै अड्याउन आग्रह गरेको बुझिएको छ। 

कांग्रेस छाड्ने संकेत देखिएपछि सानेपा बैठकमा महामन्त्री थापाले वाग्लेलाई सभापति देउवासहितको सन्देश सुनाएर उपस्थित हुन आग्रह गरे पनि उनले नमानेको बताइन्छ। कांग्रेस मुख्यालय जान अस्वीकार गरेका वाग्लेले कुनै अर्को ठाउँमा बसेर महामन्त्रीद्वयसँग आफ्नो कुरा राख्ने स्रोतको भनाइ छ।

वाग्लेलाई कांग्रेसबाट बाहिरिन नदिन महामन्त्रीद्वयले सम्भावित विकल्प र अरु अवसरबारे सोच्न सभापति देउवासँग आग्रह गरेका छन्। यद्यपि चर्चा गरिएअनुसार अर्थशास्त्री वाग्लेले रास्वपाबाट तनहुँमा उम्मेदवार बन्ने विषयमा भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन।

४ मंसिरको निर्वाचनमा तनहुँ १ बाट रामचन्द्रका प्रतिस्पर्धी रहेका रास्वपा उम्मेदवार  विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए। उक्त निर्वाचनमा रास्वपा चौथो स्थानमा रहेको थियो। कांग्रेस उम्मेदवार एवं हालका राष्ट्रपति रामचन्द्र पौडेलले २५ हजार ६३१ मत पाएर विजयी भएका थिए।

दोस्रोमा एमालेका उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९८१ र तेस्रो नम्बरका गोविन्दराज जोशीले ६ हजार ८८६ मत ल्याएका थिए।

रास्वपाले स्वीकार्‍यो स्वर्णिमसँगको हिमचिम
कांग्रेस समर्थक अर्थशास्त्री स्वर्णिम वाग्लेसँग तनहुँ १ बाट रास्वपा उम्मेदवारका मैदानमा उत्रिनका लागि कुराकानी चलिरहेको पार्टी प्रवक्ता मुकुल ढकालले बताएका छन् ।

रास्वपाले यसबारे वाग्लेसँग कुरा गरिरहे पनि हालसम्म कुनै जवाफ आइनसकेको उनले जानकारी दिए। वाग्लेलाई कांग्रेसले जितेको क्षेत्र तनहुँबाट उठाएर सरप्राइज दिन लागिएको उनको भनाइ छ।

४ मंसिरको निर्वाचनमा कांग्रेसको चुनावी घोषणापत्र निर्माणमा समेत संलग्न रहेका वाग्लेलाई त्यतिबेला चितवन र काठमाडौंमध्ये एक स्थानबाट टिकट दिइने भनिएको थियो। तर टिकट वितरणमा वाग्लेलाई प्राथमिकता नदिइएपछि उनी कांग्रेस सभापति देउवासँग रुष्ट हुँदै आएका छन्।

प्रकाशित: Mar 30, 2023| 15:23 बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...