काठमाडौं- गत ३ चैतमा बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि दस दलीय गठबन्धनमा आबद्ध दलहरूबीच असमझदारी देखियो।
दस दलीय गठबन्धनमा आबद्ध सीके राउतको जनमत पार्टी, महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा आफ्नै उम्मेदवार मैदानमा उतारे। यद्यपि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा लोसपाले जसपाकै उम्मेदवार रामसहायप्रसादलाई उपराष्ट्रपतिमा मत दियो।
रामसहायलाई सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनाउन अन्तिम प्रयासस्वरुप कांग्रेस र माओवादीले सीके राउतलाई मनाउन अधिकतम प्रयास गरे पनि सफल भएनन्।
उपराष्ट्रपति निर्वाचनअघि गठबन्धनभित्रकै ३ दल जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले कार्यगत एकता गर्ने निर्णय गरेका थिए। तर लोसपाले त्यसलाई पालना गरेन। रामसहाय उपराष्ट्रपति भएपछि रिक्त बारा २ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा सुरुमा लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोलाई मैदानमा उतारिने बताएको थियो। तर अन्तिम समय आएर महतोको उम्मेदवारीलाई फिर्ता ल्याउन सत्तारुढ गठबन्धन सफल रह्यो। लोसपाले अन्ततः उपेन्द्रलाई नै सहयोग गर्ने भएको छ।
१५ चैतको मन्त्रिपरिषद् विस्तारमा लोसपा, जसपा र नागरिक उन्मुक्तिले मन्त्रालय भागबन्डाको अंश पाएका छन्। तर ९ पुसदेखि नै प्रधानमन्त्री प्रचण्डको सहयोगी रहँदै आएको जनमत पार्टी सरकारबाट बाहिरिएको छ। जनमत केन्द्र सरकारबाट बाहिरिएसँगै मधेस प्रदेशमा पनि उसका मन्त्रीहरूलाई हटाउने तयारी थालिएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरूलाई राजीनामा दिन बाध्य पारेझैं जनमतका मन्त्रीहरूलाई पनि राजीनामाका लागि तयार रहन संकेत गरेका छन्।
गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ बाट उम्मेदवारी दिएका आफ्ना अध्यक्ष उपेन्द्रलाई बारा २ मा नसघाएको बात लगाएर मुख्यमन्त्री यादवले मधेस प्रदेश सरकारबाट सत्ता गठबन्धनमै आबद्ध दल जनमत पार्टीका मन्त्रीलाई हटाउन थालेको बताइन्छ।
मंगलबार उपेन्द्र, गोविन्द भट्टराई र जितनारायण श्रेष्ठलाई जसरी पनि संसद्भित्र छिराउने देउवा, प्रचण्डको योजनाअनुसार दस दलमध्ये प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलको मात्रै बैठक बस्यो। त्यो बैठकमा नागरिक उन्मुक्ति, जनमतलगायतका दललाई खबरसमेत गरिएन। कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एस, लोसपा गरी पाँच राजनीतिक दल सम्मिलित बैठकमा १० वैशाखको उपनिर्वाचनका लागि सत्ता गठबन्धन दलका उम्मेदवारलाई मत दिन सम्पूर्ण पार्टीपंक्तिलाई परिचालन गरिने वक्तव्यसमेत निकाल्यो।
प्रधानमन्त्रीलाई संसद्मा दुई–दुई पटक विश्वासको मत दिए पनि उपनिर्वाचनका बेला प्रचण्डले जसपाको पक्ष लिएपछि जनमत पार्टीले गठबन्धनबाटै बाहिरिने संकेत दिएको छ।
संयुक्त वक्तव्य जारी गरेर दसमध्येका पाँच गठबन्धन दलका प्रतिनिधिले उपेन्द्रलगायत तीन जनालाई जिताउन पार्टी संगठनका साथै सरकारी संयन्त्रसमेत परिचालन गरिने घोषणा गरे। ‘गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ–संस्था, संगठनका साथीहरू तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धन दलको सम्बन्धित प्रदेश, जिल्ला र उप–निर्वाचन हुने प्रतिनिधिसभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ–आफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नू÷गराउनूहुन हार्दिक आह्वान गर्दछौं,’ संयुक्त वक्तव्यमा भनिएको छ।
गठबन्धन दलले उपनिर्वाचनमा गठबन्धन दलका तर्फबाट तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराई, चितवन २ मा कांग्रेसकै जीतनारायण श्रेष्ठ र बारा २ मा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवलाई साझा उम्मेदवार बनाएका छन्। तर उपेन्द्रलाई हराउन गठबन्धन दलकै जनमत पार्टीले पनि आफ्नो उम्मेदवार उठाएको छ।
‘उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा, गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पंक्ति एकीकृत रुपमा परिचालित हुन आवश्यक छ,’ वक्तव्यमा भनिएको छ। गठबन्धन दलमा आबद्धलाई जिताउन निकालिएको वक्तव्यमा प्रधानमन्त्री प्रचण्ड, देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र र लोसपाका अध्यक्ष महन्थले हस्ताक्षर गरेका छन्।
संयुक्त वक्तव्य जारी गरेर दसमध्येका पाँच गठबन्धन दलका प्रतिनिधिले उपेन्द्रलगायत तीन जनालाई जिताउन पार्टी संगठनका साथै सरकारी संयन्त्रसमेत परिचालन गरिने घोषणा गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दल सम्मिलित गठबन्धन बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। गठबन्धनमा आबद्ध भएर सरकारमा सहभागिता जनाइसकेका अन्य दललाई बैठकमा निम्तो दिइएन। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने १० दलमध्ये सीके राउतहरू उपराष्ट्रपति निर्वाचनपछि अन्तुष्ट रहेकाले गठबन्धनमा खटपटीको संकेत देखिन थालेका छन्।
उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनमै रहेका जसपा र जनमत पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा भए पनि कांग्रेस, माओवादी उपेन्द्रतिर समर्थनमा लाग्दा नतिजा चाहेअनुसार देखियो। जनमतकी ममता झालाई गठबन्धन दलले बेवास्ता गरे। प्रधानमन्त्री प्रचण्डले गत १५ चैतमा सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेलगत्तै जनमत पार्टी सरकारबाटै बाहिरिएको छ। पछिल्लो समय दस दलीय सत्ता गठबन्धनभित्र खटपटी देखिनुको मूल कारण जसपा अध्यक्ष उपेन्द्र र जनमतका अध्यक्ष राउतबीचको इगोलाई लिइएको छ।
तीन पटक उपप्रधानमन्त्रीसहित पटक–पटक मन्त्री बनिसकेका उपेन्द्र बारा २ को उपनिर्वाचनमार्फत चुनाव जितेर पुनः सरकारमा जाने तयारी गरिरहेका छन्। सत्ता गठबन्धनमा आबद्ध दसमध्ये पाँच दलले साझा उम्मेदवारलाई जिताउन संयुक्त अपिल गरेकै कारण गठबन्धनभित्र विमति रहेको प्रस्टै देख्न सकिन्छ।
प्रचण्ड, देउवाले उपेन्द्र यादवलाई स्पेस दिएपछि जनमतका अध्यक्ष राउत प्रधानमन्त्रीले गठबन्धनको मर्मअनुरुप काम नगरेको धारे हात लगाएर र सरकारमा सहभागी एक मन्त्रीलाई समेत फिर्ता बोलाएर बारा २ को उपनिर्वाचनका लागि घरदैलो प्रचारमा व्यस्त छ। जनमतले बारा २ बाट शिवचन्द्र कुशवाहलाई चुनावी मैदानमा उतारेको छ।
प्रचण्ड नेतृत्वको सरकारमा खानेपानी मन्त्रीको कार्यभार सम्हालेका अब्दुल खानले गत शुक्रबार मात्रै राजीनामा दिए। त्यतिबेला उनले भनेका थिए, ‘गठबन्धन दलभित्र एकअर्कालाई अविश्वास गर्ने देखियो। सोचे जसरी काम गर्ने ठाउँ पाइएन। त्यसकारण पार्टीको निर्देशनअनुसार राजीनामा दिएको हुँ। उपचुनावपछि बाँकी निर्णय लिन्छौं।’
प्रचण्डलाई दुई–दुईपल्ट विश्वासको मत दिएको जनमतले मन्त्री फिर्ता बोलाएर दस दलीय गठबन्धनबाट सधैंका लागि बिदाबारी हुने तयारीमा रहेको संकेत देखाएको छ। सत्ता गठबन्धनमा सहभागी भए पनि जनमत पार्टीले जसपालाई स्वीकारेको छैन।
असन्तुष्ट सुनिए बाबुराम
नेपाल समाजवादी पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दस दलीय गठबन्धन संविधान रक्षालगायतका लागि निर्माण भएको बताएका छन्। उनले दस दलीय गठबन्धन सत्ता भत्काउने र बनाउनेका लागि नभएको उनको दाबी छ।
उनले उपचुनावमा दस दल एकै ठाउँ उभिनुपर्छ भन्ने नरहेको बताए। सत्ता गठबन्धनका ५ दलले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै १० वैशाखको उपचुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेपछि बाबुरामले यस्तो प्रतिक्रिया जनाएका हुन्।
सत्ता गठबन्धनमा १० दल रहे पनि बालुवाटारमा पाँच दल मात्रै भेला भएर विज्ञप्ति जारी गरेको भन्दै गठबन्धनभित्र असन्तुष्टिका स्वर बाहिरिन थालेका छन्। भट्टराईले चुनावमा सबै एकै ठाउँ हुनुपर्छ भन्ने नहुने बताएका हुन्। उनले भने, ‘१० दलीय गठबन्धन राष्ट्रिय स्वाधीनता, संविधान रक्षा, शान्ति प्रक्रियाको पूर्णता, सुशासन र समृद्धिका मुद्दामा प्रतिबद्ध राजनीतिक दलहरूको सहकार्य हो। उनीहरूका कतिपय अन्य मुद्दामा असहमति पनि छन्, हुन्छन्। अतः चुनाव÷उपचुनावमा सबै सधैं एकै ठाउँ हुनुपर्छ भन्ने हुन्न। यति राम्ररी बुझौं।’
तनहुँ १, चितवन २ र बारा २ मा उपचुनाव हुँदै छ। सत्ता गठबन्धनबाट तीनै क्षेत्रमा उम्मेदवार छन्। तनहुँ र चितवनमा कांग्रेस र बारामा जसपाबाट उम्मेदवार छन्। यी क्षेत्रमा सत्ता गठबन्धनमै रहेका जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतबाट पनि उम्मेदवार छन्।