काठमाडौं– १५ फागुनपछि सात दलीय गठबन्धन भत्काएर कांग्रेसतिर सल्किएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमालेको सम्बन्ध चिसिएका बेला सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित कार्यालयमा तीन ठूला पार्टीका नेताहरुको जमघट गराएका छन्।
शनिबार प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेट गराउन सभामुख घिमिरेले पुलको काम गरेका हुन्। सभामुखको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेट भएको हो।
भेटमा नेताहरुबीच भएको कुराकानीबारे विस्तृत नभनिए पनि प्रतिनिधिसभाको बैठकलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गर्ने एजेन्डा रहेको सभामुखको सचिवालयले जनाएको छ। सभामुख घिमिरे एमाले निकट हुन्।