काठमाडौं- राजधानीबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिक अखबारहरुले नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सिरिज जितेको विषयलाई मुख्य समाचार बनाएका छन् ।
सोमबार घरेलु टोली युएईलाई ४ विकेटले हराउँदै नेपालले २–१ ले सिरिज हात पारेको हो । जितसँगै आइसिसी एकदिवसीय वरीयतामा समावेश भएको छ । एकदिवसीय मान्यता पाएको १० महिनामा नेपाल सिरिज जित्न सफल भएको छ ।
गत साउनमा नेपालले नेदरल्यान्डविरुद्ध पहिलो एकदिवसीय सिरिज खेलेको थियो । सिरिजमा १–१ को बराबरी भएको थियो । नेपाल टोलीले सिरिज आफ्नो पोल्टामा पारेसँगै नेपालीर्ला क्रिकेटले फेरि अर्को खुसी थपि दिएको छ ।
यसै विषयलाई मुख्य समाचार बनाउदै कान्तिपुर दैनिकले ऐतिहासिक शृंखला शीर्षकमा खबर लेखेको छ भने नागरिकले नेपालले जित्यो एकदिवसीय शृंखला शीर्षकमा खबर छापेको छ । अन्नपूर्ण पोस्ट्ले पहिलो ओडीआई शृखला नेपाललाई शीर्षकमा खबर लेखेको छ । नयाँ पत्रिकाले भने नेपाललाई पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज शीर्षक खबर छापेको छ ।
यो विषय बाहेक आजको अन्नपूर्ण पोस्ट्ले बोल्नै नसक्ने भए डा केसी शीर्षकमा खबर छापेको छ । उसले समाचारमा लेखेको छ- २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको शरीर कमजोर बन्दै गएको छ भने बोलीसमेत निस्किन छाडेको छ ।
नजिक आउने चिकित्सकलाई उनी इसारा गर्छन्। उनको इसारा र मनस्थिति बुझेर काम गर्नुपर्ने अवस्था छ। केसीको अवस्था जटिल हुँदै गइरहेको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विशेषज्ञ डा. प्रमेश श्रेष्ठले जानकारी दिए।
केसीलाई अहिले रिंगटा लाग्ने, छाती दुख्ने र सास लिन गाह्रो हुने समस्या देखिएको छ। सुत्न अप्ठेरो भएको छ। मुटुको धड्कनमा उतारचढाव आइरहेको छ। शरीरमा पोटासियम अत्यन्त न्यून रहेको अन्नपूर्णले लेखेको छ ।
कान्तिपुरले भने सीटीईभीटी टिकाउने स्वार्थ शीर्षकमा खबर लेखेको छ ।
अनशनरत डा गोविन्द केसीसँगको सम्झौताविपरित चिकित्सा शिक्षा विधेयक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लाई टिकाइराख्ने प्रावधान राखिएको छ । उच्चस्तरीय कार्यदलको सिफारिसलाई समेत उल्लंघन गरेर सीटीईभीटी कायमै राख्ने प्रावधान विधेयकमा समावेश गरिएको समाचारमा उल्लेख छ ।
नागरिक दैनिकले भने सामाजिक सुरक्षा योजनाः सूचीकरण सुस्त शीर्षकमा विशेष खबर छापेको छ । समाचारमा लेखिएको छ– सरकारले आकर्षक नारासहित योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा ल्याए पनि त्यसअनुरुप निजी क्षेत्रलाई दबाब दिन नसक्दा सूचीकरणमा सुस्तता देखिएकोे छ ।
मजदुर कर्मचारीको सामाजिक सुरक्षाको सबालमा सरकार गम्भीर रहेको भन्दै कोषको अवधारणा सार्वजनिक गर्दा ‘नयाँ युगको सुरुआत’ को नारा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै विज्ञापनको ब्यानरमा ल्याइएको थियो। त्यसअनुसार उद्योगी व्यवसायीलाई कार्यक्रममा समावेश हुन सरकारले दबाब दिन नसक्दा सूचीकरण सुस्त हुन पुगेको हो।
सरकारले मंसिर ११ मा कार्यक्रम घोषणा गरेको थियो। त्यसयता सोमबार दुई महिना पुगेको छ। सोमबारसम्ममा जम्मा ६ सय २५ रोजगारदाता कोषमा सूचीकरण भएका छन्। कोषका अधिकारीहरुका अनुसार अहिलेसम्म १० हजारभन्दा धेरै रोजगारदाता सूचीकरण भइसक्ने अनुमान सरकारको थियो।
केन्द्रीय तथ्यांक विभागका अनुसार देशभरमा साना, मझौला र ठूला गरी करिब ९ लाख २२ हजार उद्योग प्रतिष्ठान सञ्चालनमा छन्। तिनमा काम गर्ने श्रमिकको संख्या ३४ लाख हाराहारी छ। तर सूचीकरण भएकाको संख्या हेर्दा निजी क्षेत्रलाई सरकारले दबाब दिन नसकेको प्रस्टै देखिएको समाचारमा जनाइएको छ ।
आजको नयाँ पत्रिकाले भने अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमा शीर्षकमा मुख्य समाचार छापेको छ । उसले दलितको पीडा समेत यो स्टोरीमा समेटेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४