काठमाडाैं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
आजको कान्तिपुरले प्रदर्शन र भेलालाई प्रमुख जिल्ला अधिकारीले रोक लगाउन सक्ने प्रावधानसहितको नयाँ कानुन बनाउन लागेको विषयलाई मुख्य समाचार बनाएको छ ।
गृह मन्त्रालयले संसद् सचिवालयमा दर्ता गराएको शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भेला हुनुपूर्व नै शान्ति सुरक्षामा खलल पर्ने भन्दै रोक लगाउन सक्ने प्रावधान राखिएको छ। तर, शान्तिपूर्ण भेला हुन पाउने वा नपाउने विषयमा निर्णय दिने अधिकार प्रजिअलाई दिनु गलत भएको पूर्वप्रशासकहरु बताउँछन् ।
समाचारमा लेखिएकाे छ- कुनै भेलाले शान्तिसुरक्षामा असर पर्ने लागेमा रोक लगाउन सक्ने अधिकार तोकिए पनि कस्तो भेलाले शान्तिसुरक्षामा असर पुर्याउन सक्छ भन्ने खुलाइएको छैन ।
प्रजिअले जुनसुकै भेला हुनुपूर्व नै ‘शान्तिसुरक्षामा खलल’ पुर्याउने भन्दै रोक लगाउन सक्नेछन् । यसअघि कर्फ्यु लगाइएको समयमा र निषेधित क्षेत्र घोषणा गरिएका स्थानमा मात्र भेला गर्न नपाउने कानुनी व्यवस्था थियो ।
विधेयकको दफा १३ (२) मा लेखिएको छ– प्रमुख जिल्ला अधिकारीले प्रचलित मेला, जात्रा, पर्व तथा सामूहिक भेला हुने कार्यक्रममा सुरक्षा प्रबन्ध मिलाउनेछ । उपदफा ३ मा उपदफा (२) बमोजिमका कार्यक्रमबाट शान्तिसुरक्षामा असर पर्ने भएमा प्रमुख जिल्ला अधिकारीले त्यस्ता कार्यक्रम सञ्चालनमा रोक लगाउन सक्ने भनेको छ । संविधानले सर्वसाधारणलाई शान्तिपूर्वक भेला हुने स्वतन्त्रता दिएको छ ।
यस्तै कान्तिपुरले भएका रंगशाला सबै अलपत्र शीर्षकको खबरलाई पनि प्रमुखताका साथ छापेको छ । मूलपानीमा ढेड दशक अघि बनाउन सुरु गरिएको क्रिकेट रंगशालादेखि देशैभर रहेका रंगशालाहरु अलपत्र भएको समाचारमा उल्लेख छ । नेपालमा रंगशाला नभएकै कारण यो वर्षको १३ औं साग खेलकुद सार्नुपरेको छ ।
आजको नागरिक दैनिकले भने केसीसँग वार्ता पहल भएन, चिकित्सक आन्दोलित शीर्षकमा मुख्य समाचार छापेको छ ।
अनसन बसको २४ दिन हुँदा समेत सकारले वार्ता टोल समेत गठन नगरेर केसीलाई वेवास्ता गरेको भन्दै चिकित्सकहरु सडकमा उत्रिएका छन् । सरकारका प्रवत्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने डा केसीको अनसन तोडाउने जिम्मा उनलाई बोक्नेहरुकै भएको भनेर प्रतिक्रिया दिएको समाचारमा उल्लेख छ ।
यस्तै आजको अन्नपूर्ण पोस्ट्ले भने भनेजुएला प्रकरणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई फसाइयो भन्ने अभिब्यक्ति दिएको विषयलाई मुख्य समाचार बनाएको छ ।
प्रचण्डले वक्तव्यको भाषामा आफूलाई फसाइएको निकट नेताहरुसँग बताउने गरेको समाचारमा उल्लेख छ । यो वक्तव्य बलराम बास्कोटाले ड्राफ्ट गरेका थिए भने प्रचण्ड र माधव नेपालले अन्तिम रुप दिएका थिए ।
यस्तै अन्नपूर्णले २५ करोडको मल खोई ? शीर्षकको खबरलाई पनि विशेष महत्वका साथ छापेको छ ।
सरकारी अनुदानको मल मात्रै कारोबार गर्ने कृषि सामाग्री कम्पनीले २५ करोड मूल्यबराबरको मल गायव भएको खुलासा भएको छ। सरकारी स्वामित्वकै कम्पनीले युरिया र डीएपी मल गुपचुप पारेपछि खोजिको विषय बनेको समाचारमा उल्लेख छ ।
आजको नयाँ पत्रिकाले भने ४२ प्रतिशत दलित चरम गरिबीको रेखामुनि शीर्षकमा मुख्य समाचार छापेको छ । नेपालमा दलितको अवस्थालाई चित्रित गर्ने गरि कभर स्टोरीलेखेको नयाँ पत्रिकाले ४० लाख दलित मध्ये १७ लाख चरम गरिब भएको उल्लेख गरेको छ ।
यसै विषयसँग जोडेर भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालसँग उसले कुराकानी समेत गरेको छ । मन्त्री अर्यालले अबउप्रान्त प्रश्न उठ्ने गरी भूमिहीनको समस्या समाधान गर्ने प्रतिवद्धता ब्यक्त गरेकी छिन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४