काठमाडौं- मृत्यु पनि मान्छे पिच्छे फरक हुदो रहेछ, देश भक्त छोरो मर्दा देशै रुदो रहेछ ...।
चर्चित जनावदी गायक जेवी टुहुरेको यो गीत शुक्रबार खुलामञ्चमा प्रकट भए जस्तै थियो । भविष्य बोकेको एक युवा खुल्ला मञ्चमा लमतन्न थिए। उनीसंगै अरु छ जना पनि कहिल्यै नफर्किने गरी खुल्ला मञ्चमा अन्तिम विदाईमा थिए।
मानिसको मरणसंँग उमेर जोडिदैन। त्यसैले त रवीन्द्र अधिकारी भन्दा पाका उमेरका मानिस उनलाई अन्तिम बिदाई गर्न खुलामञ्चमा थिए। जो जो बिदाई गर्न खुल्ला मञ्चमा थिए उनीहरु अधिकांशका आँखाबाट आँसु झरेका थिए। लाग्थ्यो शुक्रबारबाट मौसम विज्ञान विभागले आकाश खुल्छ भनेर गरेको भविष्याबाणी फेल खाएको छ । किन कि शुक्रबार खुल्लामञ्चमाथि आकाश खुलेको थिएन। सबैका अनुहारमा वादल लागेको थियो। त्यसैले त आँशुको बर्षा भईरहेको थियो।
शुक्रबार सिंगै देश खुलामञ्चमा थियो। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सबैधानिक निकायका प्रमुख सबैको अनुहारमा औसी थियो। लाग्थ्यो उनीहरु कठोर मनले रवीद्रको बिदाई गरीरहेका छन् । उनीहरु सपना हो कि बिपनामा छन । तर पत्याउनुको कुनै विकल्प थिएन।

हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव श्रद्धान्जलीका लागि टुडिखेलमै राखिएको छ । बिहान ८ बजे शिक्षण अस्पताल महाराजगन्जबाट उनीहरुको शव टुडिखेल ल्याइएको थियाे । अधिकारीको ठट्टा गर्ने बानीबाट कोही अपरिचित छैन । अगाडी शव देखेपनि यस्तो लाग्थ्यो अधिकारी किन ठट्टा गरीरहेका छन् ।
श्रद्धान्जलीका लागि हिजो बिहीबार नै टुडिखेलमा शव राख्ने भनिए पनि शव पोष्टमार्टम हुन समय लागेपछि आज मात्रै शव टुडिखेलमा राखिएको हो । श्रद्धान्जली अर्पणका लागि हजारौको संख्यामा सर्वसाधरणको भिड लागेको थियाे । सर्वसाधरणको जनसागर उर्लिएपछि सुरक्षाकर्मीलाई व्यवस्थापनका लागि हम्मे हम्मे परेको थियाे ।
श्रद्धान्जली कार्यक्रमपछि शव आफन्तलाई बुझाइएकाे छ । मन्त्री अधिकारीको आजै गृह जिल्ला कास्कीमा अन्त्येष्टि गरिने भएको छ भने अन्य ब्यक्तिको पनि आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको सस्ने खोला क्षेत्रमा दुर्घटनामा परेको थियो ।
एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो।
