शुक्रबार, जेठ ३, २०८२

सरकारका १ हजार ३२ आयोजना लथालिंग, ठेकेदार बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकारले पछिल्लो १० वर्षमा ठेक्का लगाएका १ हजार ८ सय ४८ वटा आयोजनाको कार्य समयमै सम्पन्न नहुँदा मूल्य १ खर्ब १८ अर्ब रुपैयाँ जोखिममा परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो अध्ययनअनुसार आर्थिक वर्ष २०६४/६५ देखि २०७४/७५ को अवधिमा ठेक्का लगाइएका आयोजनामध्ये म्याद थप भएर पनि १ हजार ३२ वटा आयोजना अलपत्र परेका छन् ।
 
कुल लागतमध्ये २३ अर्ब ६० करोड रुपैयाँ सरकारले पेस्कीका रूपमा ठेकेदारलाई भुक्तानी गरिसकेको छ । ठेक्का र पेस्की रकम लिने तर काम नसकी अलपत्र पार्ने क्रम बढे पनि सरकार सक्रिय नहुँदा राज्यको अर्बौं रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ भने विकास निर्माण अलपत्र भएको भएको छ । 

कुन मन्त्रालयकाअन्तर्गतका कति आयोजना अलपत्र ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

ठेक्का दिएर काम अलपत्र भएका आयोजनामध्ये धेरै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका नाममा छ । मन्त्रालयअन्तर्गतको सडक विभागले १० वर्ष अवधिमा २० अर्ब ७६ करोडको ९०६ वटा ठेक्का सम्झौतामध्ये ६२३ वटा ठेक्का सम्झौता लथालिंग रहेको पाइएको छ । यो कुल संख्याको ६८.७६ प्रतिशत हो । यी आयोजनाको म्याद पनि थपिएको छैन र काम पनि पूरा भएको छैन ।
 
सहरी विकास मन्त्रालय 

यो मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतका विभिन्न कार्यालयले १० वर्ष अवधिमा ६ अर्ब ३० करोडमा चार सय ४२ वटा ठेक्का सम्झौता गरेकामध्ये १७१ वटा आयोजना अलपत्र छन् । न यिनको म्याद थपिएको छ न त ठेक्का सम्झौता पूरा भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय 

यो मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले १८ अर्ब ६६ करोडमा २३५ वटा ठेक्का सम्झौता गरेकोमध्ये कुनै पनि ठेक्का तोकिएको समयमा पूरा भएको छैन । यीमध्ये ९४ वटा ठेक्का सम्झौताको म्याद पनि थपिएको छैन भने काम पनि पूरा भएको छैन । 

ऊर्जा मन्त्रालयअन्तर्गतको नेपाल विद्युत् प्राधिकरणले २०६७/६८ देखि २०७५ मंसिरसम्म सक्ने गरी ३८ अर्ब ४३ करोडको ९१ वटा ठेक्का सम्झौता गरेको थियो । तर योमध्ये ४५ वटा आयोजना अलपत्र छन् । यी आयोजनाको न म्याद थपिएको छ न त काम सकिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

यस मन्त्रालयअन्तर्गतको नागरिक उड्डयन प्राधिकरण मातहतका कार्यालयहरुले २०६९/७० देखि २०७५ मंसिरसम्ममा सम्पन्न गर्ने गरी सात अर्ब २७ करोडको ३७ वटा आयोजनाको ठेक्का सम्झौता भएको थियो । यीमध्ये ६ वटा आयोजना लथालिंग छन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय 
​​​​​​
मन्त्रालयअन्तर्गतको नेपाल टेलिकम र मातहतका कार्यालयले २०६८/६९ देखि २०७५ मंसिर मसान्तसम्म सम्पन्न गर्ने गरी १५ अर्ब ४६ करोडका २३ वटा योजना ठेक्का लगाएको थियो । यीमध्ये ८ वटा योजना अलपत्र छन् । यिनको ठेक्का सम्झौताको म्याद थपिएको छैन । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
 
यस मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विभागले ६ अर्ब ६० करोडमा ९७ वटा ठेक्का लगाएको छ । जसमध्ये ७५ वटा अलपत्र छन् । यी आयोजनाको पनि थपिएको छ न त काम सकिएको छ । 

खानेपानी मन्त्रालय

यो मन्त्रालयअन्तर्गत रहेको खानेपानी तथा ढल निकास विभागले तीन अर्ब ९० करोडमा १७ वटा ठेक्का लगाइएको छ । यीमध्ये १० वटाको योजना लथालिंग अवस्थामा छाडिएको छ । 

यसरी सरकारले सञ्चालन गरेका विकास निर्माणको कामलाई ठेकेदारले अलपत्र पार्दा सर्वसाधारणले त सास्ती पाएका छन् नै राज्यको अर्बाैं रुपैयाँसमेत डुब्ने खतरा बढेको छ । यो अवस्था आउँदासमेत सरकार ठेकेदार कस्ने र काम लगाउने तरखरमा देखिएको छैन । सरकार नै सक्रिय नबनेकाले ठेकेदारले काम अलपत्र पार्ने गरेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । 

अख्तियारले सरकारबाट सञ्चालित आयोजनाको ठेक्का व्यवस्थापनको अवस्था दयनीय रहेको देखाए पनि सुधारका लागि सरकारले कुनै प्रभावकारी कदम चालेको छैन । अख्तियारले सुझावसहितको प्रतिवेदन दिएको करिब तीन हप्ता नाघे पनि सम्बन्धित मन्त्रालयले यी ठेक्काका विषयमा कुनै कदम चालेका छैनन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवर भने कार्यालयबाट मन्त्रालय निर्देशन दिने काम भएको बताउँछन् । उनले भने, ‘अख्तियारको रिपोर्टले देखाएको अवस्थाबारे सरकार गम्भीर छ । कामहरू तत्काल व्यवस्थापनका लागि तालुकदार मन्त्रालयलाई निर्देशन भइसकेको छ ।’

प्रधानमन्त्री कार्यालयबाट निर्देशन भए पनि अलपत्र भएका एक हजार ३२ आयोजनामध्ये कुनैको पनि न पुरानो ठेकेदारसँग ठेक्का सम्झौता नवीकरण गरिएको छ न त नयाँलाई दिएर काम अघि बढाउने प्रक्रिया सुरु भएको छ। 

यसरी सरकारी योजनालाई राज्यको ढुकुटी दोहनको अस्त्र बनाउने प्रवृत्ति दिनानुदिन बढ्नुका राजनीतिक शक्तिको दुरुपयोग नै मुख्य कारण भएको विज्ञहरू बताउँछन् ।

पूर्वाधारविद् किशोर थापाको भनाइमा दलहरूको संरक्षणकै कारण ठेकेदार बलिया भएकाले काम अलपत्र भएको हो । उनले भने, ‘जबसम्म ठेकेदारलाई राजनीतिक संरक्षण गर्न छाडिन्न, भाका नाघ्नेबित्तिकै जरिबाना गरेर कस्ने काम गरिन्न, तबसम्म यस्तो प्रवृत्तिको अन्त्य हुनेवाला छैन ।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।