काठमाडाैं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्रलाई सभापति बन्ने इच्छा भएका कारण आफूलाई टेर्न छोडेको गुनासो गरेका छन्। प्रेस युनियन पाल्पा शाखाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा देउवाले महाधिवेशन आउनै लाग्दा पार्टीका नेताहरुबीच तिक्तता बढेको बताए। देउवाले भने 'रामचन्द्रजी अबको महाधिवेशनमा सभापतिमा उठ्दै हुनुहुन्छ, अनी मैले भनेको कहाँ मान्नुहुन्छ र।' पार्टीको अधिवेशन आएकाले पार्टीका नेता पौडेलले आफ्नो विरोध गरेको उनको भनाई छ। शेरबहादुर राम्रो भन्यो भने चुनाव लड्न नमिल्ने भएकाले पौडेलले आफ्नो विरोध गरेको उनले बताए।
देउवाले शान्तिपूर्ण वार्तामा आउन विप्लव समूहलाई आग्रहसमेत गरे। विप्लव समूहलाई सहमतिमा ल्याउन सरकारले वार्ताको पहल गर्नुपर्ने देउवाले बताए। उनले सरकारले सिके राउतसँग गरेको सहमति राष्ट्रघाती भएको टिप्पणी गरे।
नेपाली कांग्रेस र प्रजातन्त्र पर्यावाची शब्द भएको बताउँदै देउवाले प्रतिपक्षका रुपमा रहेको पार्टी रेलिङ्ग भाच्ने पार्टी नभएको बताए। 'कांग्रेस हिन्दू धर्मको पक्षमा रहेको हो', भन्ने सञ्चारकर्मीकोे प्रश्नमा देउवाले नेपाल संविधानमा रहेको व्यवस्था पार्टीले मान्ने बताए। उनले गिरिजाप्रसाद कोइरालाले धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शशांकले हिन्दू धर्मका पक्षमा बोलेर केही नहुने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४