आइतबार, जेठ १९, २०८२

नेपाललाई 'लगानी हब' बनाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं : अर्थमन्‍त्री डा युवराज खतिवडाले लगानी सम्मेलनले नेपालमा लगानीको नयाँ माहोल सिर्जना गर्ने बताएका छन्।

लगानी सम्मेलनको तयारीबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्‍त्री खतिवडाले भने, ‘लगानी सम्मेलन साझा प्रयास हो, नेपाललाई चिनाउने र लगानी हब बनाउने अभियान हो ।'

उनले लगानी सम्मेलनको औचित्यबारे स्पष्ट पारेका छन्।मुलुकका विभिन्न ७७ आयोजनामा झन्डै ३५ खर्ब रुपैयाँ लगानी आउने अपेक्षासहित गर्न  लागिएको सम्मेलन एउटा महत्वपूर्ण अवसर रहेको बताउँदै भने, ‘सम्मेलनमा करिब एक दर्जन परियोजनामा सम्झौता हुनेछ।'  

अर्थमन्त्री डा. खतिवडाले विश्वव्यापी रूपमा नेपाल एउटा सम्भावना र स्रोतले भरिएको मुलुक हो भन्ने सूचना दिन सम्मेलन आयोजना गरिएको जानकारी दिए । उनले भने, ‘सबै क्षेत्र र प्रकारका उद्यमशील कम्पनी र प्रतिष्ठानहरुलाई स्वागत गर्दै  निजी क्षेत्रलाई थप सशक्तीकरण गर्दै लैजाने जमर्को सरकारले गर्नेछ।’

लगानीका लागि तयार रहेका सम्पूर्ण व्यवसायी एवं प्रतिष्ठानसँग तत्कालै द्विपक्षीय सम्झौता गरी कार्यान्वयनमा गइहाल्न सरकार तयार रहेको जानकारी सम्मेलनमा दिइने उनले बताए। डा. खतिवडाले भने, ‘नेपाली निजी क्षेत्रलाई विदेशी निजी क्षेत्रसँग साझेदारी गराउन समन्वयकारी भूमिका निर्वाह गर्न सरकार लागिपरेको जानकारी दिइनेछ।’

अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको पहिचान स्थापना गर्दै लैजाने, नेपालमा लगानीको प्रशस्त सम्भावना रहेको र त्यसको सुरक्षा सरकारले प्रदान गर्ने प्रचिबद्धता लगानीकर्ताहरुलाई दिइनेछ । यसैगरी लगानीमा आवश्यक वित्तीय क्षमताका लागि कर्जा व्यवस्था गर्न र  लगानी केन्द्रित वित्तीय परामर्शको कुशलतालाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने कानुनी एवं प्राविधिक स्थिति व्यवस्थित गर्न सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।

अर्थमन्त्री डा.  खतिवडाले सम्मेलनका लागि सबै तयारी पूरा भएको जानकारी दिए । लगानी सम्मेलनमा ४० मुलुकका ६ सय विदेशी, विकास साझेदार, स्वदेशी लगानीकर्ता सहभागी हुने जनाएको छ । उनीहरूसँग सार्वजनिक  ५० र  निजी २७ गरी ७७ परियोजनामा लगानी गर्न आह्वान गरिनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्