जनकपुरधाम – विद्यालय बचाउ अभियानको नाममा रकम ठगी गर्ने एकजनलाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही हरिपुर नगरपालिका–२ बस्ने ३२ वर्षीय वीरेन्द्र कुमर रहेको प्रहरीले जनाएको छ।
विभिन्न सरकारी तथा गैरसरकारी विद्यालयमा कार्यरत शिक्षकहरुसँग गैरकानुनी रुपमा रकम उठाउँदै हिँडेका कुमरलाई प्रहरीले पक्राउ गरेको हो।
विगत केही समयदेखि उनी बारा जिल्लाको कोल्हवी क्षेत्रमा रहेका विभिन्न सरकारी तथा गैरसरकारी विद्यालयमा कार्यरत शिक्षिकाहरुसँग सेभ द स्कुलको नाममा शैक्षिक सामग्री किनबेच गर्ने, तालिम सञ्चालन गर्ने र वृज कोर्स गराउने जस्ता योजना सुनाइ रकम उठाउँदै गठी गर्दै आएको प्रहरीले जनाएको छ।
कुमरले सेभ द स्कुलको नाममा रकम ठगी गर्दै हिँडेको उजुरीको आधारमा प्रहरीले बाराको कोल्हबी नगरपालिका–३ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अगाडिबाट उनलाई पक्राउ गरेको हो।
कुमरको साथबाट सेभ द स्कुल लेखिएको रसिदको ठेली १ थान र विद्यालय बचाउ अभियान लेखिएको ठेली २ थान बरामद भएको जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कुमरविरुद्ध ठगी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४