काठमाडौं- बंगलादेशमा विजुली बेच्नका लागि तत्कालका लागि सरकारले भारतीय प्रसारण लाइन नै उपयोग गर्ने भएको छ।
बंगलादेशमा भएको नेपाल–बंगलादेश संयुक्त ऊर्जा संयन्त्रको बैठकको क्रममा तत्कालका भारतीय प्रसारण लाइनमार्फत तथा दीर्घकालीन रुपमा भने बंगलादेशसँग छुट्टै डेडीकेटेड लाइन बनाएर सरकार अघि बढ्ने भएको हो।
बंगलादेशले सन् २०४० भित्र नेपालबाट नौ हजार मेगावाट विद्युत लैजाने घोषणा गरिसकेको छ।
नेपालबाट सिधै प्रसारण लाईन बनाउन सक्ने अवस्था नभएकोले तत्कालका लागि भारतीय प्रसारण लाइन हुँदै बंगलादेशमा बिजुली बेच्ने र दीर्घकालीन रुपमा भने छुट्टै डेडीकेटेड प्रशारण लाइन बनाएर लैजाने गरी सहमति भएको ऊर्जा सचिव दिनेश घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार, बैठकको क्रममा बंगलादेशका अधिकारीहरुले नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ५ सय मेगावाट विद्युत बंगलादेशले किन्ने गरी अघि बढेको प्रकृया अन्तिम चरणमा पुगेको छ।
माथिल्लो कर्णालीको विद्युत भारत हुँदै बंगलादेशमा बिक्री भएमा यसले नेपालबाट बंगलादेश बिजुली लैजान सहज हुने अपेक्षा सरकारको छ।
बैठकमा दुई देशबीच विद्युत व्यापारको सम्भावना खोज्न दुवै देशहरुले दीर्घकालीन उत्पादन तथा अन्तरदेशीय प्रसारण लाइनको समीक्षा गर्ने र नेपालमा लगानी योग्य सम्भाविता जलविद्युत आयोजनाहरु पहिचानका लागि तीन सदस्यीय उत्पादन र प्रशारणका लागि संयुक्त प्राविधिक टोली बनाउने सहमति भएको छ।
बैठकको क्रममा नविकरणीय उर्जाको प्रबद्र्धनमा नेपालको बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र बंगलादेशको सस्टनेवल एन्ड रिन्युएवल एनर्जी डेभलपमेन्ट अथोरीटीबीच प्रविधि तथा सीप आदानप्रदान गर्ने सहमति भएको छ।
सहमतिपत्रमा नेपालको तर्फबाट सचिव घिमिरे तथा वंगलादशेको तर्फबाट त्यहाँका शक्ति, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका बरिष्ठ सचिव डा. अहमद कैकाउसले हस्ताक्ष गरे। तीन महिनाभित्र प्राविधिक टोलीले यसबारे अध्ययन गरेर प्रतिवेदन दिने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४