रोल्पा- विवेकशील नेपाली पार्टीको नीति सम्मेलन रोल्पाको सदरमुकाम लिवाङमा सुरु भएको छ।
शुक्रबार सुरु भएको तीनदिने सम्मेलनले पार्टीको विधान, नीति पारित गर्दै आगामी रणनीति तय गर्नेछ।
सम्मेलनको पहिलो दिन सहभागीहरूले वाणिज्य सङ्घको सभाहलबाट सुरु गरी सहरको प्रभातफेरि गरेका थिए। प्रभातफेरीपछि सभामा परिणत भएको कार्यक्रममा प्रदेश ५ का संयोजक शिवप्रसाद थापाले सम्मेलनको औचित्यबारे प्रष्ट पारे। प्रदेश सभा ३ का सांसद रमेश पौड्यालले प्रदेश सभामा आफूहरूले खेलेको भूमिकाको बारेमा पनि सम्मेलनमा चर्चा गरेका थिए।
साथै, प्रदेश सभा सदस्य पौड्यालले विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई पक्रेर हत्या गरेकोमा सरकारको विरोध गर्दै विप्लव समूहलाई पनि हत्या हिंसा त्यागेर तीन करोड नेपालीको मुहारमा मुस्कान ल्याउन सबै पक्ष सँग वार्ता, संवाद र सहकार्य गर्न आग्रह गरेका थिए।
सम्मेलनमा प्रवासका सदस्यहरूको मानार्थ आठौँ प्रदेश लगायत सबै प्रदेश संयोजक वा प्रतिनिधिहरू तथा सांसद पौड्याल तथा विराजभक्त श्रेष्ठले शुभकामना दिँदै पार्टीले लिनुपर्ने दिशाको बारेमा चर्चा गरेका थिए।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सचिव भरत राज पन्त, कर्णाली प्रदेशका संयोजक अनिल शाही, प्रदेश ५ का संयोजक शिव प्रसाद थापा, गण्डकी प्रदेशकी संयोजक सुमित्रा गुरुङ, प्रदेश ३ कि संयोजक कर्मा तामाङ, प्रदेश २ बाट प्रदेश संयोजक माधव कुमार, प्रदेश १ संयोजक सन्तोष घिमिरे र प्रदेश ८ का समिति सदस्य राज क्षेत्रीले पार्टीले लिनुपर्ने कार्यक्रमको सफलताको शुभकामना दिएका थिए।
कार्यक्रमको समापन गर्दै पार्टी अध्यक्ष उज्वल थापाले द्वन्द्वकालमा आफूले रोल्पामा गरेको भ्रमणको स्मरण गरेका थिए।
साथै उनले विवेकशील नेपालीको इतिहास संक्षिप्तमा पनि व्यक्त गरेका थिए। उनले सिस्टम बनाउनुअघि संस्कार बनाउन आवशयक रहेको कुरा समेत बताए। उनले कार्यक्रमले देशको एक राजनीतिक दललाई आवश्यक पर्ने नीति, रणनीति तथा विधान यस सम्मेलनले तय गर्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा, नेपाली कांग्रेस रोल्पाका कार्यवाहक अध्यक्ष किशोर आचार्य उद्योग वाणिज्य सङ्घ, रोल्पाका अध्यक्ष विश्व कुमार चन्द, पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काँशीराम डाँगीले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४