सप्तरी- पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका-८ स्थित बिसनपुर चोकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई घाइते भएका छन्।
दुर्घटनामा सुरुङ्गा नगरपालिका–१, पिपरा बस्ने २७ वर्षीय अरविन्द चौधरी र खड्क नगरपालिका–६ बिसनपुरका २८ वर्षीय अनबारुल अन्सारीको ज्यान गएको प्रहरीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६८प ६८८७ र विपरीत दिशाबाट आउँदै गरेको ज६प ५८५३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनामा घाइते चौधरी र अन्सारीको लहानस्थित राउ स्मारक अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पिपराका १८ वर्षीय देवानन्द चौधरी र बिसनपुरका ४० वर्षीय मोहम्मद किसुधीन घाइते छन्। उनीहरूलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको छ।
दुवै मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४