काठमाडौं– मुलुक संघीय संरचनामा गइसकेको छ। सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको छ। केन्द्रमा सीमित रहेको अधिकार, केन्द्रीकृत पूर्वाधार र अवसरहरु अहिले प्रदेश र स्थानीय सरकारले पनि पाएका छन्। संघीयता कार्यान्वयन भएपछि हरेक कुराका लागि काठमाडौं आउनुपर्ने बाध्यता नरहने र यहाँको चाप घट्ने अपेक्षा गरिएको थियो। तर, देशका विभिन्न स्थानबाट विभिन्न सपना बोकेर केन्द्रीय राजधानी छिर्नेको संख्यामा कमी आएको छैन।
अनेक सपना बोकेर काठमाडौं छिर्नेहरुले भोग्नुपर्ने समस्या पनि अनेक छन्। त्यसैमध्येको एउटा समस्या हो– कोठा भाडाको। सबैभन्दा पहिले त कोठा पाउनै मुस्किल, पाएपछि घरबेटीसँगको द्वन्द्व। भाडामा बस्ने धेरैको गुनासो हुन्छ घरबेटीसँग– पर्याप्त पानी नदिने, महिना नपुग्दै भाडा माग्ने, पाहुना आए कचकच गर्ने, राति ढिलो पुगे गेटमा ताल्चा लगाइदिने आदि।
पहिलो समस्या पानी
काठमाडौंमा पानीको समस्या दिनदिनै बिकराल बन्दै गएको छ। मेलम्चीको पानी राजधानीबासीका लागि आकाशको फल भइसक्यो। पानीको विषयमा घरबेटी र भाडावालाबीच सधैं किचलो हुने गरेको भुक्तभोगीहरु सुनाउँछन्। भाडावाललाई मात्र होइन, घरबेटीलाई पनि खानेपानी टाउको दुखाइको विषय हो।
जुत्ता–चप्पल गन्छन् घरबेटी
धेरैजसो घरबेटी चाहन्छन्– आफ्नो घरमा मानिसको भीड नहोस्। यसको मुख्य कारण पानीको अभाव नै हो। कतिपय घरमा सेप्टिक ट्यांक हुने भएकाले ट्यांक चाँडै भरिने समस्या पनि हुन्छ।
भाडावाल भने कहिलेकाहीँ पाहुना आउने कुरालाई सामान्य रुपमा लिनुपर्ने तर्क गर्छन्। झापाबाट काठमाडौं आएर भाडामा बसिरहेकी सविता भण्डारी भन्छिन्, ‘हामीले चारजना बस्ने भनेर फ्ल्याट भाडामा लिएका हौं। एकजना थपिँदा पनि घरबेटी रिसाउँछन्। ४ वटा कोठामा ४ जना बस्न पनि नपाइने ? ३ वर्षमा चार पटक कोठा सर्नुपर्ने अवस्था आइसक्यो।’
एक कोठामा एक जना
कतिपय घरबेटी एउटा कोठामा एकजनामात्रै बस्नुपर्ने तर्क गर्छन्। यसले गर्दा दुईजना मिलेर बस्ने खासगरी विद्यार्थीलाई समस्या हुने गरेको छ। अछामबाट काठमाडौं आएका रामहरि भन्छन्, ‘काठमाडौं आउनासाथ साथीको कोठामा बसें। तर, घरबेटीले दुईजना बस्न नमिल्ने भनेपछि छाड्नुपर्ने भयो। अहिले कोठा खोज्दै भौंतारिरहेको छु। एक महिना भइसक्यो, कोठा भेटेको छैन।’ कोठा खोज्नको लागि दलाल खोज्न थालेका छन् रामहरि।
कोठा नपाउने समस्या काठमाडौंमा नयाँ होइन। यही समस्यालाई ‘क्यास’ गर्न कोठा खोजिदिने सेवा सुरु भएको पनि धेरै भइसक्यो। सामाजिक सञ्जालमा पनि यस्तो सेवा दिनेका समूह भेटिन्छन्। यसबाट कतिपयलाई राहत भए पनि कतिपय भने ठगिने गरेका पनि छन्। यसरी ठगिएकाहरु दैनिक रुपमा प्रहरीसम्म पुग्ने गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सहकुल थापा बताउँछन्।
केही समय अगाडिमात्रै फेसबुकमा ‘रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाडौं’ नामक पेज बनाएर ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको थियो। कोठाको आवश्यकता भएकालाई कोठा खोजिदिने भन्दै आईएमई वा ई–सेवामार्फत् पैसा पठाउन लगाउने र पछि सम्पर्कविहीन हुने पीडितहरु गुनासो गर्छन्। सामाजिक सञ्जालमा 'रुम एण्ड फ्याट अन रेन्ट इन काठमाडौं', 'कोठा खाली छ ?', 'रुम फाइन्डर', 'चार कोठा डटकम'लगायत दर्जनौं नामबाट पेजहरु खोलिएका छन्। कोठा तथा फ्ल्याट खोजिदिएबापत उनीहरुले एक हजारदेखि १५ हजारसम्म लिने गरेका छन्।
मनलागी भाडा
कोठा भाडामा लिने–दिने चलन चलेको वर्षौं भइसके पनि न कोठाको मापदण्ड तोकिएको छ न त भाडा नै निर्धारण गरिएको छ। घरबेटी र भाडावालको आपसी सहमतिमा नै भाडा तह हुँदै आएको छ। कति समयमा कति भाडा बढाउन पाउने भन्ने पनि कुनै मापदण्ड छैन।
यसले गर्दा घरबेटीलाई मन लागेको बेलामा भाडा बढाउन सजिलो भएको भाडावाल गुनासो गर्छन्। कतिपयले नयाँ भाडावाल राख्न पनि अस्वाभाविक रुपमा भाडा बढाउने गरेको भुक्तभोगीहरु बताउँछन्। भाडामा बस्नुपूर्व दुई पक्षबीच सम्झौता गर्नुपर्ने नियम महानगरले ल्याएको छ, तर त्यसको पालना भएको छैन।
डेरामा बस्ने प्रमिता भन्छिन्, ‘सम्झौता आवश्यक हुने डेरावाललाई हो तर डेरावालले कर गर्न पनि सक्दैनन्। बल्लबल्ल पाएको डेरा पनि फुत्किने डरले सम्झौताको विषयमा कुरा उठाउँदैनन्। सम्झौता अनुसारको सुविधा दिनुपर्ने भएकाले घरबेटीले पनि सम्झौता गर्न आवश्यक ठान्दैनन्।’
उदासीन महानगर
काठमाडौंमा डेरामा बस्ने लाखौं छन्। महानगरले घरबहाल कर उठाउँछ केही मात्रामा। तर, घरबहाल कर तिर्ने घरधनीको समेत स्पष्ट तथ्यांक छैन महानगरसँग। आगामी आर्थिक वर्षदेखि महानगरपालिकाले घरको सही तथ्यांक राख्ने महानगरका राजस्व विभागका प्रमुख नुरनिधि न्यौपानेले बताए।
पहिलो पक्ष र दोस्रो पक्षको सहमतिका आधारमा घरबहाल कर लिने ऐनमा छ। हाल महानगरले स्वघोषणाका आधारमा घरबहाल कर संकलन गरिरहेको छ। घरधनी र डेरावाको सम्झौता अनुसारको १० प्रतिशत कर महानगरले उठाउने भएपनि घरधनीले सम्झौता नदेखाई घरबहाल तिरिरहेको कामनपाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन्। अहिले महानगरले घरबहाल कर उठाउन वडावडामा संकलन केन्द्र राखेको छ।