भैरहवा- छोराले बाबुआमाको हत्या गर्छ र ? तपाईंलाई पत्यार नलाग्न सक्छ।
तर, रुपन्देहीमा एउटा सन्काहा छोराले धारिलो हतियार प्रहार गरी बाबुआमाको हत्या गरेका छन्।
छोराको हतियार प्रहारबाट ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको मृत्यु भएको छ। प्रहरीका अनुसार २८ वर्षीय कान्छा छोरा गोरख यादवले खुर्पाले हानेर बुबाआमाको हत्या गरेका हुन्।
ओमसतिया गाउँपालिका ४ बालापुरका गोरखलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
गोरख बुबाआमासँगै बस्दै आएका थिए। ५ भाइमध्ये कान्छा गोरखले बुबाआमालाइ खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्कबहादुर खत्रीले बताए।
बुबाको घटनास्थलमै र आमाको उपचारका लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ।
गोरखको आक्रमणमा घाइते भएका दाजु जोगेन्द्र यादवको पनि मेडिकल कलेजमै उपचार भइरहेको छ।
गोरखले बुबाआमाको हत्या किन गरे भन्ने विषयमा केही खुल्न सकेको छैन। गोरखले लामो समयदेखि ड्रिपे्रेसनको औषधि सेवन गरिरहेको प्रहरीले बताएको छ।