जनकपुरधाम - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले आफ्नो पाँच वर्षको अवधि पूरा गर्ने दाबी गरेका छन्। कसैले चाहदैमा सरकार नढल्ने उनको भनाइ छ।
नेकपा र राजपाको दुई बुँदे सहमतिपछि प्रदेश सरकारको समीकरण फेरबदल हुनसक्ने आशंका भइरहेको बेला मुख्यमन्त्री राउतले यस्तो दाबी गरेका हुन्। बुधबार बिहान प्रादेशिक अस्पताल जनकपुरको निरीक्षण गर्न पुगेका राउतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदेश सरकार पाँच वर्ष चल्ने बताए।
सरकार परिवर्तनको हल्लाबारे सञ्चारकर्मीको जिज्ञासामा राउतले भने,'कसले भन्छ सरकार परिवर्तन हुन्छ? सरकार पाँच वर्ष चल्छ। बिहेको बेला मरणको प्रश्न गर्ने तपाईंहरुको बानी भइसकेको छ ।'
अस्पताल निरीक्षण गर्दै मुख्यमन्त्री राउतले प्रदेशकै नमूना अस्पताल बनाउने गरि योजना तयार पार्न अस्पताल प्रशासनलाई निर्देशन दिए। ' यो अस्पताल प्रदेशकै गौरव हो, अस्पतालमाथि जनताको विश्वास बढाउन के गर्न सकिन्छ, तात्कालिन, मध्यकालिन र दीर्घकालिन कार्ययोजना बनाउनुस्, प्रदेश सरकार सहयोग गर्न तयार छ,' राउतले अस्पताल प्रशासनलाई निर्देशन दिए।
प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई प्राधिकरणमा लग्ने तयारी गरेको बताउँदै राउतले बिरामीलाई गुणस्तरीय र भरपर्दो सेवा दिन चिकित्सकहरुलाई निर्देशन दिए। अस्पतालमा देखिएको जनशक्ति अभाव समाधान गर्न सरकारले तयारी गरिसकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रादेशिक लोकसेवा आयोगमार्फत चाँडै जनशक्ति समस्या अन्त्य हुने जिकिर गरे।