काठमाडौं । मापसे कारवाहीबाट जोगिन ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
कलंकी चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले शङ्का लागी सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीबाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरी नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरी श्रेष्ठले सवारी चलाएकोले प्रहरीलाई प्रलोभवनमा पार्न ५ हजार रुपैयाँ दिएर कानुनी कारवाहीबाट बच्न खोजेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
ट्राफिक प्रहरीले आवश्यक अनुसन्धानका लागि चालक र सवारी साधनसहित महानगरीय प्रहरी वृत्त,कालिमाटीमा बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।