बुधबार, असार ११, २०८२

‘मास्क र ज्वरो नाप्ने यन्त्रको मौज्दात छ, कोरोना शंका लागे नजिकैको अस्पताल जानुस्’

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले अत्यावश्यक सामग्रीहरु मौज्दात स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन्।
 |  बिहीबार, चैत ६, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, चैत ६, २०७६

काठमाडौं- कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले अत्यावश्यक सामग्रीहरु मौज्दात स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन्।

‘बजारमा अहिले केही सामाग्रीको अभाव भएको छ’, मन्त्री ढकालले भने, ‘सरकारले सम्भावित जोखिमलाई ध्यान दिएर सामान स्टकमा राखेको छ, सामानहरु अहिल्यै सकेर पछि जोखिम भएमा झनै अभाव हुन्छ, त्यसैले केही सामानहरु जम्मा गरिएको छ।’

मन्त्री ढकालले केही मित्रराष्ट्रबाट १ लाख प्रति मास्क र २० हजार पिस ज्वरो नाप्ने यन्त्र प्राप्त भएको जानकारी दिए। सरकारले केही तयारी गरेको छैन भन्नेहरु धेरै भएको भन्दै मन्त्री ढकालले भने ‘सरकार सुतेर बसेको छैन। भोलि कोरोनाको संक्रमण देखिएमा पनि उपचारको लागि सरकार सक्षम छ।’

चीनमा कोरोना संक्रमण देखिँदा नेपाललाई जति जोखिम थियो त्यो भन्दा बढी अन्य राष्ट्रमा कोरोना संक्रमण फैलिँदा जोखिम भएको मन्त्री ढकालले बताए।

जानकारी नहुनेले ल्यावको विश्वसनियतामाथि प्रश्न गर्दा चित्त दुख्छ : डा.झा

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले प्रयोगशालाको परिक्षण विश्वासिलो भएको बताइन्। आम मानिसले नेपालको प्रयोगशालामाथि प्रश्न गरिरहँदा डा. झाले भनिन्, ‘नेपालको प्रयोगशाला गलत थियो भने पहिलो पटक कोरोना पोजेटिभ देखिएको रिजल्ट कसरी आयो? नेपालमा परिक्षण गरिएका केही केसहरु परिक्षण र क्रस चेकको लागि हामीले हङकङ पनि पढाएका छौँ, हङकङ पठाइएका र नेपालमा परीक्षण गरिएकाको सबै रिजल्ट एउटै छ, त्यसैले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई विश्वास गर्न सकिन्छ।’

ल्याबको विषयमा जानकारी नै नहुने र ल्याबको प्रकृयाबारे केही ज्ञान नहुनेहरुले ल्यावको विश्वसनियतामाथि प्रश्न गर्दा चित्त दुख्ने झा बताउँछिन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ५ सय ३० वटा परीक्षण गरिएको र त्यसमध्ये एकबाहेक सबै रिर्पोटहरु कोरोना नेगेटिभ देखिएको डा. झा बताउँछिन्। डा. झाका अनुसार परीक्षणको लागि आवश्यक पर्ने किटको तत्कालको लागि अभाव छैन।

प्रयोगशालामा अहिले २ हजार किटहरु छन् र ८ हजारको किटको लागि टेन्डर आह्वान गरिएको छ। थप आवश्यकता परेमा पुनः माग गरिने झाले बताइन्। ठूलो संख्यामा परिक्षण गर्नुपरेमा पनि ल्याव, जनशक्ति र किटको कारण परीक्षण नरोकिने उनको भनाइ छ।

घाँटी खसखस गर्दा पनि अस्पताल पुग्छन्

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘मानिसहरुमा अनावश्यक त्रास बढी देखिएको छ। हामीले परिकल्पना गरिएको भन्दा पनि बढी मनको भाइरस सक्रिय देखिएको छ।’

मानिसहरुले सामाजिक सञ्जाल र नकारात्मक कुरालाई बढी विश्वास गर्दा धेरै मानिसमा कोरोना फोबिया देखिएको छ। कोरोना फोबियाका कारण अस्पताल पुग्नेहरुसँग एक घण्टा भन्दा बढी परामर्श गर्नुपर्ने अवस्था रहेको पुन बताउँछन्। डा. पुनका अनुसार स्वस्थ्य मानिसले भन्दा पनि संक्रमित वा सशंकित मानिसले मास्क लगाउँदा उपयुक्त हुन्छ।

‘रुटिङ केसहरु’ बन्द गर्ने

कोरोना संक्रमित व्यक्तिलाई आइसियुमा राख्नुपर्ने अवस्थामा जुनसुकै अवस्थामा पनि आईसियु उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटा बताउँछन्।

विश्व्यापी ट्रेण्ड हेर्दा ५ सय कोरोना संक्रमित बिरामीमध्ये २५ जनालाई मात्रै आइसियुको आवश्यकता पर्दछ। त्यस तर्फ पनि नेपालले ध्यान दिएको छ। नेपालमा सम्भावित कोरोना संक्रमितलाई आईसियु आवश्यकता पर्ने हुनाले रुटिङ केश बन्द गर्ने डा. देवकोटा बताउँछन्।

रुटिङ केश भन्नाले कुनै पनि बिरामीको शल्यक्रिया केही समय पछाडि गर्न मिल्ने छ भने त्यस शल्यक्रियाको समय पछाडि धकेलेर आईसियुहरु संक्रमितको लागि प्रयोग गरिन्छ। यसको लागि समन्धित अस्पतालहरु तयार रहेको उनी बताउँछन्।

अस्पतालहरुमा आईसियु तथा ४ सय आइसोलेसन बेडहरु तयार भएको डा. देवकोटा बताउँछन्। महामारी फैलिएको अवस्थमामा पुरै देश लकडाउन हुँदैन, देवकोटा भन्छन्, ‘कुन क्षेत्रमा महामारी फैलिएको छ त्यस क्षेत्रलाई बन्द गरिन्छ,।’

कुनै पनि क्षेत्रमा कोरोनाको आशंका गरिएका बिरामी देखिएमा तत्काल सो व्यक्ति लामो दूरी यात्रा गरी अस्पताल नजान डा. देवकोटा आग्रह गर्छन्। आशंका लागेमा नजिकैको अस्पताल जाने र त्यहाँको अस्पतालले कोरोना परीक्षण आवश्यक भएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षणको लागि पठाउने र रिर्पोट नआएसम्म उक्त व्यक्ति सोही अस्पतालमा सुरक्षित बस्नुपर्ने देबकोटा बताउँछन्।

प्रकाशित: Mar 19, 2020| 12:43 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्