काठमाडौं– गाँजाबारे काठमाडौंमा भएको एक बहसका सहभागीहरुले गाँजा उत्पादन र विक्रीलाई बैधानिकता दिन अबेर भइसकेको बताएका छन्।
शुक्रबार लाजिम्पाटमा आयोजित ‘नेपालमा गाँजा वैधानिकताबारे अभियन्ता र सञ्चारकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रम’ मा सहभागीहरुले गाँजा उत्पादनलाई वैधानिकता दिनुपर्नेमा दुई मत नभए पनि यसबाट नेपाली किसानहरु लाभान्वित हुनसक्ने गरी ऐेन आउनु पर्ने बताए ।
गाँजा उत्पादनलाई वैधानिकता दिइएपछि उत्पादन, प्रशोधन र अन्तिम वस्तु उत्पादनसम्ममा विचौैलियाको विगविगी हुनसक्ने, अन्तर्राष्ट्रिय माफिया वा केही निश्चित वर्गको मात्र यसमा आधिपत्य हुनसक्ने प्रति पनि चनाखो रहनुपर्नेमा उनीहरुको जोड थियो।
नेपालमा गाँजा उत्पादनलाई वैधानिक बनाउनुपर्ने अभियानमा लागेका नेवि संघका पूर्व उपाध्यक्ष ऋशिकेशजंग शाहको संंयोजनमा भएको कार्यक्रममा जानकारहरुले आ–आफ्नो विचार राखेका थिए।
काठमाडौ विश्वविद्यालयका सह–प्राध्यापक डा.राजेन्द्र ज्ञवालीले गाँजा उत्पादनलाई वैधानिक बनाउन संंसदमा विधेयक दर्ता भइसकेको अवस्थामा त्यसमा संंशोधन गरिनु जरुरी रहेको बताए।
नेपालमा जडिबुटी उत्पादन र संकलन गर्ने किसानहरु सधैं गरीब रहेको र विचौलियाले मात्रै फाइदा उठाइरहे जस्तै गाँजा उत्पादनबाट पनि निश्चित बर्गले मात्रै फाइदा उठाउन सक्नेतर्फ उनले सचेत गराए।
गाँजाको उत्पादन, प्रशोधन र अन्तिम वस्तु उत्पादनसम्म नेपालमै नेपालीमात्रको संलग्नतामा हुनुपर्ने बताउँदै उनले अनुमतिपत्र वितरणका लागि निश्चित मापदण्ड तोक्नु पर्ने र किसानहरु बढीभन्दा बढी लाभान्वित हुने गरी ऐनमै व्यवस्था हुनुपर्ने बताए।
यसैगरी फार्माकोलोजिस्ट डा. समोद आचार्यले गाँजाबाट थुप्रै औैषधि बन्ने र आयुर्वेदमा यसको ठूलो महत्व भएको जानकारी दिए। उनले भने, 'हाम्रै देशमा उत्पादन हुने र पहिलेदेखि प्रचलनमा रहेका जडिबुटीको उपयोग छोडेर आयातित औषधिमा निर्भर रहनु दुखद अवस्था हो ।’
नेपालमै उत्पादन भइरहेका गाँजा सम्बन्धी औषधिहरु यसमा प्रतिवन्ध लागेपछि बन्द भएको तर विदेशीले अहिले त्यही ज्ञान प्रयोग गरी औषधि उत्पादन गर्न थालेको उनले बताएका थिए।
यसैगरी आयुर्वेद चिकित्सक डा. ऋषिराम कोइरालाले गाँजा उत्पादन र प्रशोधनमा विदेशी गिरोहहरुको चासो रहेको भन्दै त्यसतर्फ सचेत रहनुपर्ने बताए। उनले भने “गाँजा उत्पादनलाई वैधानिकता दिनुपर्छ तर, त्यसबाट अरु समस्या उत्पन्न नहोेस र किसानहरु लाभान्वित होउन भन्नेतर्फ पनि बेलैमा ध्यान दिनु जरुरी छ।”
गाँजामाथि पनि ठूला व्यापारीकै नियन्त्रण हुन सक्नेतर्फ सचेत गराउँदै उनले संसदमा दर्ता भएको विधेयकमा सुधारको आवश्यकता रहेको बताए।
नेपालमा कहाँ कस्तो गुणस्तरको गाँजा उत्पादन हुन्छ त्यसको अनुसन्धान र अभिलेखिकरण हुनु पर्ने बताउँदै डा. कोइरालाले हाम्रो ज्ञानको चोरी भइरहेको बताए ।
कार्यक्रममा अभियन्ता शाहले नेपालमा गाँजामा प्रतिवन्ध लाग्नुअघिसम्म सिंहदरबार वैद्यखानाले ११ वटा महत्पूर्ण औषधि उत्पादन गरेको जानकारी दिंदै गाँजालाई रक्सी वा अन्य लागू पदार्थसँग जोडेर हेर्न नहुने बताएका थिए।
उनले भने, “निर्यात निकै कम भएको नेपालले अन्तर्राष्ट्रिय बजारमा बेच्नसक्ने सहज वस्तु गाँजाबाट हुने उत्पादन हुनसक्छ, यसले हाम्रो अर्थतन्त्रमा ठूलो योगदान पुर्याउनेछ।”
कार्यक्रममा पूर्व सचिव भीम उपाध्याय, अभियन्ता राजीभ काफ्ले, रसायनशास्त्री वीरेन्द्र पराजुली लगायतको सहभागिता थियो ।