शनिबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • दसैँमा बेच्न ६ करोडका खसीबोका किन्दै सरकार, खाद्यान्नमा प्रतिकेजी ५ रुपैयाँ छुट

दसैँमा बेच्न ६ करोडका खसीबोका किन्दै सरकार, खाद्यान्नमा प्रतिकेजी ५ रुपैयाँ छुट

'यस वर्षको दसैँमा करिब ६ करोड रुपैयाँ हाराहारीका खसी बोका खरिद गर्ने योजना खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बनाएको छ,' कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले भने, 'खसीबोका खरिदका लागि करिब ६ करोड रुपैयाँ बजेट छुट्याइएको छ।'
 |  बिहीबार, भदौ २४, २०७८

प्रेम चन्द

प्रेम चन्द

बिहीबार, भदौ २४, २०७८

काठमाडौं- सरकारले यस वर्ष दसैँमा ६ करोड रुपैयाँ बराबरका खसीबोका किनेर बिक्री गर्ने भएको छ। दसैँमा मासुको माग बढेर अस्वाभाविक मूल्य बढ्ने भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि भन्दै सरकार आफैँले खसीबोकाको व्यापार गर्दै आएको छ। 

'यस वर्षको दसैँमा करिब ६ करोड रुपैयाँ हाराहारीका खसी बोका खरिद गर्ने योजना खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बनाएको छ,' कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले भने, 'खसीबोका खरिदका लागि करिब ६ करोड रुपैयाँ बजेट छुट्याइएको छ।'

मकवानपुर, दाङलगायतका जिल्लाबाट करिब ३ हजार खसीबोका खरिद गर्ने लक्ष्य लिइएको खनालले बताए। ‘सुपथ मूल्य पसल सञ्चालनका लागि मन्त्रालयले रकम विनियोजन गर्ने हो,’ उनले भने, 'खसीबोका किन्न भनेर ६ करोड छुट्याइएको छ।'

गत वर्ष कम्पनीले १ हजार ५०१ खसीबोका खरिद गरेर बिक्री गरेको थियो। गत वर्षको कोरोना महामारीका कारण योजना अनुसार खरिद बिक्री गर्न नसकिएको कम्पनीका अधिकारीहरुको भनाइ छ। गत वर्ष दसैँमा उक्त परिमाणमा खसीबोका खरिद गर्न २ करोड ८५ लाख रुपैयाँ खर्च गरिएको थियो। 

कम्पनीले विभिन्न जिल्लाबाट खसीबोकाको मूल्य निर्धारण गरी खरिद गर्दै आएको छ। खरिद मूल्यमा काठमाडौंसम्मको ढुवानी भाडासहित जोडर मूल्य  निर्धारण गर्दछ। त्यसपछि प्रतिकेजी १० रुपैयाँका दरले छुट दिएर बिक्री गर्दै आएको छ। 

यसवर्षको दसैँमा पनि प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिइसकेको छ। मंगलबार मन्त्रालयका सचिव दिनेश भट्टराईको संयोजकत्वमा बसेको बैठकले खसीबोकाको मासुमा प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री गर्ने निर्णय गरेको थियो। बैठकले आगामी १ असोजदेखि विभिन्न स्थानमा दसैँतिहार लक्षित सुपथ मूल्य पसलसमेत सञ्चालनमा ल्याउने निर्णयसमेत गरेको थियो।

कोरोनाले टुटाउँदै च्याङ्ग्रा कारोबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसअघिका वर्षहरुमा दसैँका लागि च्याङ्ग्रा समेत खरिद गरेर बिक्री गर्दै आएको थियो। तर, पछिल्लो समय कोरोना महामारीका कारण च्याङ्ग्राको कारोबार टुट्दै गएको छ। कम्पनीका नायब महाप्रबन्ध खनालले यस वर्षपनि च्याङ्ग्रा आपूर्ति नगरिने बताए।

‘माथिल्लो मुस्ताङमा चीनबाट च्याङ्ग्रा आउने रहेछ,’ उनले भने, ‘उपल्लो मुस्ताङका भेडीगोठमा यताको उता, उताको यता कारोबार हुँदो रहेछ। अहिले दुई वर्षदेखि कोभिडको कारणले त्यो कारोबार रोकिएको छ।’ 

मुस्ताङतिरै च्याङ्ग्रा आपूर्ति कम भएपछि काठमाडौंमा आपूर्ति गर्न कठिन हुने खनालको भनाई थियो। ‘प्रयास त गरिरहेका छौं,’ खनालले भने, ‘पोहोर साल पनि माग गरेजति च्याङ्ग्रा पाइएन।’

खाद्यान्नमा प्रतिकेजी ५ रुपैयाँ छुट

कम्पनीले यस वर्ष दसैँ तिहार छठ पर्व लक्षित सुपथ मूल्य पसलमा खाद्यान्नमा प्रतिकेजी ५ रुपैयाँका दरले छुट गर्ने भएको छ। मन्त्रालयको निर्देशन अनुसार कम्पनीले आगामी १ असोजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको हो। आगामी कार्तिक २४ सम्म सञ्चालनमा ल्याइने कम्पनीका सुपथ मूल्य पसलमा फापर, नुन, दाल, चामललगायतका खाद्यान्न पाइने छन्। 

चाडपर्व लक्षित सुपथ मूल्य पसल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि सञ्चालनमा ल्याउने भएको छ। साल्ट ट्रेडिङले यस वर्ष सरकारले भन्सार छुटमा चिनी आयात गर्न अनुमति नदिएकाले चिनी आपूर्तिमा कठिनाई हुने गुनासो गर्दै आएको छ।

प्रकाशित: Sep 09, 2021| 15:34 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्