काठमाडौं- ‘मन्त्रीज्यू नमस्कार, समय यही हो, नेपालको सीमानामा काँडेतार लगाउँ, सबै नेपालीले श्रमदान गर्ने छन्। लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद।’ सिद्धप्रसाद ढुङ्गानाले यही म्यासेज लेखेर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई मोबाइलमा म्यासेज पठाए।
भारतले नेपाली भूमिमा बनाएको सडक शुक्रबार उद्घाटन गरेको खबर सार्वजनिक भएपछि आफ्नो भूमिको रक्षा गर्न युवाहरुले परराष्ट्र मन्त्री ज्ञवालीलाई एसएमएसमार्फत दवाव दिन थालेका छन्।
सिद्ध जस्ता थुप्रै युवाहरुले मन्त्री ज्ञावालीको मोबाइल नम्बर ९८५१०८८२२२ मा एसएमएस गर्दै नेपाली भूमि लिपुलेक र लिम्पियाधुरामा भारत र चीनले सीमा मिचेको बारेमा तत्काल कूटनीतिक पहल गर्न दबाव दिएका छन्।
युवाहरुले आफूले एसएमएस पठाउनुका साथै अरुलाईसमेत एसएमएस गर्न सामाजिक सञ्जालमार्फत् आह्वान गरिरहेका छन्।
एलबी विश्वकर्माले ‘नेपालले वार्ता गरिरहेको छौँ भन्दाभन्दै आज नेपाली भूमिमा भारतीय डोजर चल्यो, हुन त यो नौलो कुरा होइन तर, सधैँ यस्तो कहिलेसम्म? तपाई तलब खान मात्र कुर्सीमा बस्नु भएको होइन, नभुल्नु होला नेपाली सीमा विवाद अन्त्य गर्न सरकारको तत्काल ध्यानाकर्षण होस्’ खेलेर पठाएको एसएमएसको स्क्रिनसट नै फेसबुकमा राखेका छन्। उनले पनि सबैलाई मन्त्रीको नम्बरमा एसएमएस गर्न अनुरोध गरेका छन्।
मोरङ लेटाङका कोशिस सुवेदीले ‘माननीय मन्त्री कमरेड अभिवादन! भारतीय सरकारले नेपाली भूमि मिचेर बनाएको बाटो बारे तत्कालै आवश्यक पहल गरी हाम्रो भूमि फिर्ता ल्याउनु होला’ लेखेर मन्त्रीलाई एसएमएस पठाएका छन्।
‘दार्चुलाको गुन्जी क्षेत्र अतिक्रमण गरी भारतले सडक निर्माण गरेको सन्दर्भ र लिपुलेक विवादको सन्दर्भमा तत्काल भारत र चीनसँग कूटनीतिक पहल गर्नुहोस्। हैन भने नेपाली जनताले लकडाउनका बाबजुद पनि सडक संघर्ष गर्नेछन्, हामीलाई हाम्रो एक्लो ज्यान भन्दा सिंगो देशको माटो प्यारो छ’ बसन्त जोशीले मन्त्रीलाई पठाएको एसएमएस हो यो।
आयुश सापकोटा वसन्तले एसएमएसकै अगाडि थप्छन् ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे। तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको, माटो र पानी पहिलो धन धर्तिका छोराको। ए कहाँबाट संसार हेर्छौ संझ्यालै नरहे।’
‘मन्त्री ज्यू, लिपुलेक सम्बन्धी ताजा खबर थाहा पाउनु भयो? कूटनीतिक पहल होस्, समस्या समाधान होस्’ झापाका कृष्ण खतिवडाले एसएमएस लेखेका छन्।
आरके रोमस नामको फेसबुक आइडीमा सबैलाई एसएमएस गर्न अनुरोध गर्दै लेखिएको छ ‘माननीय परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई सच्चा देशभक्तहरुले म्यासेजमार्फत दबाव दिईराख्नु भएको छ। उहाँलाई सरकारमा राष्ट्रवाद सम्झाउने अभियानमा सहभागी बनौँ र सार्थक प्रयत्नको लागि दबाब दिऔ। राष्ट्रवाद भाषणमा होइन व्यवहारमा देख्न पाइयोस।’
मैले पनि एक नागरिकको हैसियतले माननीय मन्त्रीज्यू लाई सीमा अतिक्रमको सन्दर्भमा मेसेज गरे तपाइँहरुले पनि मेसेज गरेर नागरिकको हैसियतमा दवाव दिनुहोस्’ उनले फेसबुकमा लेखेका छन्।
थुप्रै युवाहरुले एउटै खालको एसएमएस लेखेर पठाएका छन्। मन्त्रीको मोबाईलमा हालसम्म कतिवटा एसएमएस पुगे त्यो त एकिन भएन तर म्यासेजहरु भने आइनै रहेको स्वकीय सचिव सुदन ज्ञावालीले बताए। सुदनले मन्त्रीको व्यक्तिगत फोनमा अघिपछि पनि विभिन्न दबावमूलक एसएमएस आइरहने स्मरण गर्दे यसबारे उतिसारो चासो व्यक्त गरेनन्।
भारतले नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा समेटेर गत कार्तिकमै नक्सा सार्वजनिक गरेको थियो। त्यो बेला नागरिक स्तरबाट सरकारलाई नेपालको आधिकारिक नक्सा सार्वजनिक गर्न व्यापक दवाव सृजना भए पनि राज्यले कुनै चासो देखाएन।
भारतले नेपाली भूमिमा ८० किलोमिटर सडक निर्माण गरेर उद्घाटन गर्दा सम्म पनि सरकार केही नबोलेपछि युवाहरुले चौतर्फी दबादब सृजना गरेका छन्। परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ती प्रकाशित गरी भारतले नेपाली भूमिमा सडक निर्माण गरेको बिषमा बिरोध जनाएको छ। सीमा रक्षाका लागि अभियान सञ्चालन गरिरहेको ‘सेभ बोर्डर मुभमेन्ट’ नामक समूहका सदस्य एसएमएस अभियानमा बढी सक्रिय छन्। उनीहरुले शनिबार दिउँसो माइतिघर मण्डलामा प्रदर्शनसमेत गरेका थिए।