मंगलबार, असार १०, २०८२

सामाजिक दूरी कायम गर्नै मुस्किल

लकडाउन खुकुलो भएसँगै मानिसहरुले हेलचेक्र्याइँ गर्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वाथ्यका मापदण्ड, २०७७’ जारी गरेको छ।
 |  बिहीबार, असार ४, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, असार ४, २०७७

तस्बिरहरुः दिनेश श्रेष्ठ

गएको चैत ११ गतेदेखि देशभर लागू भएको बन्दाबन्दी (लकडाउन) थप नगरी सरकारले असार १ गतेदेखि खुकुलो बनाउने निर्णय गर्‍यो। दैनिक जीवनयापनलाई सहज बनाउन भन्दै सरकारले लकडाउनको स्वरुप परिवर्तन गरेको हो।

साढे दुई महिनाभन्दा लामो लकडाउन खुकुलो हुन थालेपछि सडक तथा बजारमा मानिसहरुको चहलपहल बढ्न थाल्यो। सरकारी तथा निजी कार्यालय खुल्न थाले। व्यापार–व्यवसाय सुचारु हुन थाल्यो।

देशभर कोरोना संक्रमितको संख्या बढिरहेको र जोखिम पनि उस्तै रहेका बेला मन्त्रिपरिषद् बैठकले लकडाउन थप नगर्ने निर्णय गरेको थियो।

लकडाउन खुकुलो भएसँगै मानिसहरुले हेलचेक्र्याइँ गर्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वाथ्यका मापदण्ड, २०७७’ जारी गरेको छ। मापदण्डमा अनिवार्य रुपमा एसएमएस (सोसल डिस्टान्सिङ, मास्क र स्यानिटाइज) विधि प्रयोग गर्नुपर्ने उल्लेख छ।

मन्त्रालयले सबै सार्वजनिक तथा निजी संस्थानहरुमा पालना गर्नुपर्ने अत्यावश्यक, आधारभूत, संस्थागत, अन्य र विविध गरी श्रेणी छुट्याएर मापदण्ड निर्माण गरेको छ। जसअन्तर्गत एसएमएस विधिलाई अत्यावश्यक श्रेणीमा राखिएको छ ।

कोरोना महामारीकै बीच मुलुक नव सामान्यीकरणतर्फ क्रियाशील भइरहेको भन्दै स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्नु सबैको जिम्मेवारी भएको बताएको छ। जारी गरिएको मापदण्डलाई एकीकृत गरी बन्दाबन्दीलाई व्यवस्थित गर्दै हालको पूर्ण बन्द अवस्थालाई खुकुलो पार्न सकिने मन्त्रालयको भनाइ छ।

नव सामान्यीकरणमा मानिसहरुले एकअर्कामा कम्तिमा २ मिटरको दूरी कायम गर्नुपर्नेछ। भिडमा जाँदा मेडिकल मास्क वा कपडाको मास्क भए तीन तहको मास्क प्रयोग गर्नुपर्नेछ। समय–समयमा हात सफा गर्नुपर्छ।

लकडाउन खुकुलो भएसँगै कोरोनाको जोखिम झन् बढेको विज्ञहरुले बताउँदै आएका छन् । एकातर्फ कोरोनाको जोखिम उच्च भएको छ भने अर्कोतर्फ आम मानिसहरु आफ्नो दैनिकी सहज बनाउन लागिपरेका छन् ।

दैनिकी सहज बनाउने क्रममा सरकारले भनेको ‘एसएमएस’को मापदण्ड पालना नभएको विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। खासगरी साना पसल–व्यवसायमा सामाजिक दूरीको मापदण्ड पालना भएको देखिँदैन।

चाहेर पनि सबै मापदण्ड पालना गर्न नसकिएको व्यापारीहरु बताउँछन्। ‘बल्ल–बल्ल पसल खोलिएको छ, भीड भएर नआउनु भन्न पनि सकिँदैन। सर्तकता अपनाउनु भने पनि त्यति मान्दैनन् । साँघुरो पसल छ, सामाजिक दूरी कायम गर्नु भनेर हामीले भनेर कसले मान्ला र खै ?’ न्युरोडमा पसल गर्ने सीता लामाले भनिन्।

लकडाउन खुकुलो भएसँगै फुटपाथमा पनि चहलपहल बढेको छ। बानेश्वरको फुटपाथमा व्यापार गर्ने रमेश दुलाल जोखिमका बीच पनि व्यापार गर्नु बाध्यता भएको बताउँछन्। रमेश भन्छन्, ‘सरकार भिडभाडमा नजानु भन्छ, तर हाम्रो रोजीरोटी यही भिडबाट चल्छ त के गर्नु ? रोगभन्दा भोक नै ठूलो रहेछ ।’

कोरोना भाइरस संक्रमणबाट जोगिन २ मिटर दूरी राख्नुपर्छ भनिएको छ, तर घरबाहिर निस्कने हो भने त्यो सम्भव देखिएको छैन ।

असनमा कपडा पसल भएका महेन्द्र पाशवानको दुखेसो भने घरबेटीप्रति छ । लकडाउनको समयमा पसल बन्द गरेर पर्सा घर गएका उनी आइतबार काठमाडौं आइपुगेर पसल खोले । पसल खोल्न पाउँदा उनी केही खुसी थिए तर घरबेटीले ३ महिनाको भाडा मागेपछि उनको चिन्ता बढेको छ। ३ महिनासम्म व्यापार नभएकोले कसरी भाडा तिर्ने भन्ने पिरलो उनलाई छ।

सबैभन्दा धेरै जोखिम सार्वजनिक स्थलमा

काठमाडौंको जनजीवन सामान्य हुने क्रममा छ। सरकारी तथा निजी कार्यालय खुलेसँगै सेवाग्राहीको चाप बढेको छ। सडकमा सवारी जाम हुन थालेको छ। सरकारले ‘नवसामान्यीकरणमा नयाँ व्यवहार’ भन्दै स्वास्थ्य मापदण्ड ल्याएको छ। सामाजिक दूरी, मास्क र स्यानिटाइजमा ध्यान दिन सरकारले आग्रह गरेको छ।

विश्व स्वास्थ्य संगठनले पनि सामाजिक दूरी र मास्कको विकल्प नभएको प्रष्ट पारेको छ। तर, यी तीनै कुराको पालनामा संवेदनशिलता देखिएको छैन। यो प्रवृत्ति घातक हुने जनस्वास्थ्यका जानकारहरु बताउँछन्।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे भन्छन्, ‘सबैभन्दा बढी जोखिममा सार्वजनिक स्थल छन् । भीडभाड बढी हुने भएकाले सामाजिक दूरी कायम गर्न गाह्रो छ। कोही संक्रमित भएमा एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस छिटो सर्न सक्छ ।’

डा. पाण्डेको सुझाव छ, ‘यो अवस्थामा सार्वजनिक स्थलमा जाँदा ३ वटा कुरामा ध्यान दिनुपर्छ । भौतिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने र मास्क अनिवार्य लगाउने । यति गरे कोरोना सर्ने सम्भावना कम हुन्छ ।’

अहिलेसम्म कोरोना भाइरस समुदायस्तरसम्म नपुगेकाले सचेत रहने हो भने संक्रमणबाट जोगिन सकिने जनस्वास्थ्यका अर्का विज्ञ डा. समिरमणि दीक्षित बताउँछन् ।

‘लकडाउन खुकुलो भयो भन्दैमा चुनौती नै छैन भन्ने होइन। सामाजिक दूरीमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ । लकडाउन बाध्यतामा खोलिएको हो । अहिलेको चुनौती भनेको लकडाउन नगरेर नै कोरोनासँग कसरी लड्ने भन्ने हो,’ डा. दीक्षित भन्छन्, ‘कोरोना संक्रमण १–२ महिनामा नै सकिने अवस्था छैन । किनभने रोगको प्रकृति नै धेरै लामो समयसम्म रहने खालको छ । धेरै लामो समयसम्म यो रोग सँगसँगै जानुपर्ने हुन सक्छ ।’

प्रकाशित: Jun 18, 2020| 13:39 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।