कोरोना नियन्त्रण तथा रोकथामका लागि स्थापना गरिएका क्वारेन्टिन र आइसोलेसनका बेथिति, स्वास्थ्य सामग्री खरिदमा अनियमितता, आरडीटी किटको अनावश्यक प्रयोगलगायत विषयमा इनफ इज इनफ अभियान साढे दुई महिनादेखि सडक आन्दोलनमा छ।
कुनै दल र संगठनको अगुवाइबिना स्वस्फूर्त रूपमा सडकमा उत्रिएका अभियन्ता दोस्रोपटक अनिश्चितकालीन सत्याग्रहमा बसेको मंगलबार ११ दिन भएको छ।
कोभिड–१९ इनफ इज इनफ अभियानका ईः ले नेपाल समयसँग भने, ‘नेपालमा जनताले उठान गर्नुपर्ने र सरकारले समाधान गर्नुपर्ने विषय धेरै छन्। यतिबेला धेरै मानिसको जीवन र मरणको सवाल भएकाले हामी कोरोना केन्द्रित भएका हौं।’
वसन्तपुर डबलीमा अनशनमा रहेका अभियन्ता ईः र समायिराको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ।
अभियन्ता आलोक सुवेदी भन्छन्, ‘यो एकदुईजनाको मात्रै मुद्दा होइन, आम मानिसको मुद्दा हो। हामी प्रतिनिधि पात्र बनेर सुरु गरेका हौं।’
उनले सत्याग्रह मात्रै गरेर सरकार जबाफदेही बन्ने अवस्था नदेखिएको बताए। उनले भने, ‘अब हरेक नागरिक, समुदाय, पार्टी, क्लबहरुले उपयुक्त कदम चाल्नु जरुरी छ।’
अभियानलाई समर्थन जनाउन दैनिक सयौं मानिस वसन्तपुर पुग्ने गरेका छन्। उनीहरूको अभियानमा नागरिक समाज र विभिन्न दलका नेताले ऐक्यबद्धता जनाइसकेका छन्।
‘लाखौं मानिसको जीवनमरणको सवाल छ। हामी केहीको जीवन बरु जोखिममा रहोस् तर लाखौंको जीवन सुरक्षित हुनुपर्छ’, अभियन्ता ईः भन्छन्, ‘हामी जुनसुकै बेला जे पनि हुन सक्छौं तर यो अभियान रोकिन्न।’
‘कुनै पार्टीको झन्डा बोकेका छैनौं’
केही समयअघि इनफ इज इनफ अभियानलाई कुनै राजनीतिक पार्टीबाट परिचालित रहेको आरोप लाग्यो। त्यसैअनुरुप केही अभियन्ता फेसबुक गु्रपको एडमिन हुनबाट पछाडि हटे।
अभियन्ता ईः भन्छन्, ‘इनफ इज इनफ एक स्वतन्त्र अभियान हो। यसमा जोसुकै पनि आबद्ध हुन सक्छन्। कसैलाई कर गरेर अभियानमा सामेल गराइएको छैन।’
सामाजिक व्यवस्था हटे पनि सोचाइ हट्न नसकेको उनले बताए। उनले भने, ‘कुनै समूहबाट परिचालित मानिसले सोच्ने नै त्यही रहेछ। केही मानिस अन्य समूहबाट परिचालित भएकै हुन्छन् भन्ने सोचले बाहिरिएका होलान्। यस विषयमा बहस गर्नु जरुरी छैन।’
सबैको जीवन जोखिममा पर्दा पनि सरकार मौन रहेपछि सडकमा उत्रिएको सुवेदीले बताए। उनले भने, ‘हामीले नारा लगाएका छैनौं। न त कुनै पार्टीको झन्डा बोकेका छौं। सबैको कुनै न पार्टीप्रति आस्था होला तर यो स्वतन्त्र अभियान हो।’
‘माग पूरा नभएसम्म सत्याग्रह रोक्दैनौं’
जेठ २९ गते बालुवाटारमा सयौं संख्या युवाले सरकारविरुद्ध प्रदर्शन गरे। प्रदर्शनकारी न कुनै दलको झन्डामुनि थिए न त उनीहरुलाई कुनै औपचारिक संगठनको साथ थियो। एक्कासि ठूलो संख्यामा सरकारविरुद्ध सडकमा निस्कने को हुन्? धेरैको जिज्ञासा थियो।
असार १२ गते अभियन्ताले पाटन कृष्ण मन्दिरमा सत्याग्रह सुरु गरे। उनीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीसमेत भेट्न पुगे। प्रधानमन्त्रीले भेटेपछि वार्ता भयो। सत्याग्रहका १२ औं दिन असार २३ गते सरकार र इनफ ग्रुपबीच १२ बुँदे सम्झौता भयो।
सम्झौतामा विदेशबाट फर्केका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राख्ने, त्यसपछि कोरोना परीक्षण गरेर उनीहरूको इच्छाअनुसार होम वा होटल क्वारेन्टिन वा सार्वजनिक क्वारेन्टिनमा राख्ने, होम क्वारेन्टिन निर्देशिका एक साताभित्रै तयार गर्ने, जोखिममा रहेकालाई राज्यको नीतिअनुसार पीसीआर परीक्षण गर्न विद्यमान निर्देशिका तत्काल परिमार्जन गर्ने उल्लेख थियो।
यस्तै सम्झौतामा कोरोना भाइरस पहिचान गर्नका लागि र्यापिड डायग्नोस्टिक विधिको प्रयोग स्थगित गर्ने, क्वारेन्टिन र होल्डिङ सेन्टर समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने उल्लेख छ।
क्वारेन्टिनमा भएकालाई अनिवार्य पीसीआर विधिद्वारा परीक्षण गर्दा नेगेटिभ नतिजा आए मात्र समाजमा पुनस्र्थापना गर्ने–गराउने व्यवस्था कार्यविधि र निर्देशिकामा समावेश गर्ने, सर्वोच्च अदालतको आदेशअनुसार परीक्षण तथा क्वारेन्टिन लगायत बारेको निर्देशिका परिमार्जन गर्ने विषय सम्झौतामा भएको थियो
ईः भन्छन्, ‘हामीले चाहेअनुसार सम्झौता भएको थिएन तर हामीले उठाएको मुख्य बुँदा पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने र आरडीटी परीक्षण हटाउनुपर्ने भन्ने बुँदा समावेश गरिएकाले सहमति गरेका थियौं।’
सहमतिको १२ दिन बितिसक्दा पनि सरकारले कुनै पनि माग पूरा नगरेपछि फेरि वसन्तपुर डबलीमा सत्याग्रह सुरु गरेको उनले बताए। उनले माग पूरा नभएसम्म सत्याग्रह जारी रहने बताए।
यसरी जन्मियो कोभिड–१९ इनफ इज इनफ अभियान
लकडाउनको ७५ दिन बितेको थियो। औपचारिक एवम् अनौपचारिक क्षेत्रमा रहेका लाखौं मजदुरको अवस्था दयनीय बन्दै थियो। कैयन् मजदुर खान नपाएर बिचल्लीमा थिए।
कोरोना नियन्त्रण तथा रोकथामका लागि व्यवस्था गरिएका क्वारेन्टिन र आइसोलेसनका बेथिति धमाधम बाहिरिँदै थिए। स्वास्थ्य सामग्री खरिदमा अनियमितता, आरडीटी किटको अनावश्यक प्रयोगदेखि क्वारेन्टिनमा मृत्यु भएका समाचार आइरहेका थिए।
आममानिसलाई असन्तुष्टि थियो। त्यस्ता असन्तुष्टि सामाजिक सञ्जाल र मिडियामा मात्रै सीमित थिए। तर कसैले पनि सडकबाट आवाज उठाउन सकेको थिएन। यी सबै गतिविधि अभियन्ता ईः ले नियालेका थिए। ईः लाई लाग्यो यो त ‘अत्ति भयो’ अर्थात् इनफ।
त्यसपछि फेसबुक पेज बनाए कोभिड–१९ इनफ इज इनफ। पहिलोचोटि ‘कोरोना भाइरसविरूद्ध सरकारको कामप्रति असन्तुष्ट जनाउँदै सडकमा जान कोही तयार हुनुहुन्छ, फेसबुक लिंक पठाउनुस्’ भनेर पोस्ट गरे। उनको फेसबुक पेजमा केही समयमै धेरैले सहभागिता जनाए।
अभियन्ता ईः भन्छन्, ‘हामी केही साथी हुन्छौं भन्ने सोचेको थिएँ। तर सबैजना सरकारप्रति असन्तुष्ट हुनुहुँदो रहेछ। हाल धेरैले यस अभियानलाई साथ दिनुभएको छ।’ फेसबुकबाट सुरु भएको अभियान अहिले देशभर सक्रिय छ।