काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार नाघेकोे छ भने ६० जना संक्रमितले ज्यान गुमाइसकेका छन्। गत माघमा चीनबाट आएका एक नेपाली युवामा पहिलोपटक कोरोना पुष्टि भएको थियोे । हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा परीक्षण गर्दा ९ माघमा ती युवामा कोरोना पोेजेटिभ देखिएको थियो ।
केही समयको अस्पताल बसाइपछि उनी संक्रमणमुक्त भएर घर फर्किए । अहिलेसम्म २१ हजारमा संक्रमण पुष्टि भएकोमा १५ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
गएको डिसेम्बर अन्तिम साता चीनको वुहान सहरमा पहिलोपटक देखा परेको कोरोना भाइरसबाट पूरै विश्व आक्रान्त छ। अहिलेसम्म १ करोड ८४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। ७ लाखभन्दा बढीको ज्यान गइसकेको छ।
कोरोना संक्रमण सुरु भएको ८ महिना पुगिसक्दा पनि अहिलेसम्म कुनै पनि औषधि वा भ्याक्सिन बन्न सकेको छैन । थुप्रै देशका वैज्ञानिकहरु कोरोनाको औषधि वा भ्याक्सन बनाउन लागिपरेका छन्।
कोरोनाको कुनै औषधि वा भ्याक्सिन बनेको छैन। तरपनि संक्रमितहरु ठिक भइरहेका छन्। नेपालको तथ्यांक हेर्ने हो भने कुल संक्रमितमध्ये ७१ प्रतिशत संक्रमणमुक्त भएका छन्।
कोरोनाको कुनै औषधि वा भ्याक्सिन अहिलेसम्म नबनेको अवस्थामा संक्रमितको उपचार कसरी हुन्छ ?
सम्बद्ध चिकित्सकहरुका अनुसार सामान्यतया १५–२० प्रतिशत संक्रमितलाई मात्रै उपचारको आवश्यकता पर्छ । आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीको संख्या पाँच प्रतिशतभन्दा पनि कम हुन्छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाका अनुसार कोरोनाको औषधि नभएकाले खास उपचार पद्धति छैन । त्यसैले संक्रमितमा देखिएको लक्षणका आधारमा औषधि चलाइन्छ। यसलाई सपोर्टिभ उपचार भनिन्छ। कोरोना संक्रमण भएका तर निमोनिया, पखाला, ज्वरो आदि समस्या भएका बिरामीलाई त्यसैअनुसार औषधि दिइन्छ। लक्षण नभएका बिरामीलाई भने औषधि चलाइँदैन ।
कतिपय मुलुकमा एचआइभी एड्स, इबोला भाइरस आदिका रोगीले खाने औषधि कोरोनाका बिरामीलाई दिने गरेको पनि पाइन्छ। तर, विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘केही संक्रमितलाई निको पार्दैमा त्यसले औषधिको मान्यता पाउँदैन।’
डा. बास्तोलाका अनुसार सामान्यतया कोरोना संक्रमण हुँदा देखिने लक्षण भनेको ज्वरो आउने, निमोनिया हुने, पखाला लाग्ने, आलस्य हुने आदि हुन्। कुनै संक्रमितलाई औषधि प्रयोग गर्नुपूर्व भाइरसले शरीरमा कस्तो असर गर्छ भन्ने पत्ता लगाउनुपर्छ । कोरोना भाइरसले सबैभन्दा पहिले फोक्सोमा असर गर्छ र निमोनिया गराउँछ । निमोनिया भएपछि सास फेर्न गाह्रो हुने हुँदा अक्सिजनको आवश्यकता पर्छ ।
अवस्था गम्भीर हुँदै गएपछि मुटुमा रगत जम्ने सम्भावना हुन्छ । जसलाई कोयोगिलोप्याथी भनिन्छ । यसबाट बचाउनको लागि हेपारेन्टको प्रयोग गरिन्छ । हेपारेन्ट रगत पातलो बनाउने औषधि हो । अन्य देशहरुले प्रयोग गरेको आधारमा नेपालमा पनि औषधि प्रयोग भएको डा. बास्तोला बताउँछन् ।
त्यस्तै केही बिरामीलाई रेम्डेसिभिर पनि प्रयोग गरिएको छ । रेम्डेसिभिर एन्टीभाइरल ड्रप हो । इबोलाको लागि बनेको यो औषधि पनि अहिले कोरोना संक्रमितमा प्रयोग गर्ने गरिएको छ । विश्वका केही देशहरुले प्रभावकारी भनेर प्रयोग गरेको यो औषधि नेपालमा पनि कोरोनाका केही संक्रमितमा प्रयोग गरिएको डा. बास्तोला बताउँछन् ।
कोरोनाका कारण अन्य ब्याक्टेरियल इन्फेक्सन पनि देखिन सक्छ। त्यसका लागि एन्टिबायोटिक औषधि प्रयोग गरिन्छ ।
कोरोनाका बिरामीको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार यसको मुख्य उपचार अक्सिजन नै हो । भाइरसको संक्रमणपछि लक्षण देखिन थाल्छ। निमोनिया हुन जान्छ र सास फेर्न गाह्रो हुन्छ। त्यसैले शरीरमा अक्सिजन कमी हुनाले अक्सिजन आवश्यक पर्छ। अक्सिजनले मात्रै काम गरेन भने बिरामीलाई भेन्टिलेटरमा राखिन्छ।
सास फेर्न नसक्ने अवस्था आएमा, दुवैतर्फ छातीमा निमोनिया भएमा, संक्रमितले आफैंलाई सपोर्ट गर्न नसकेमा भेन्टिलेटर प्रयोग गरिने डा. बास्तोला बताउँछन् ।
नेपालमा कोरोना संक्रमितलाई कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट पनि उपचार सुरु गरिएको छ । विश्वभर नै जटिल स्वास्थ्य अवस्था भएका संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी मुख्य विकल्पका रूपमा प्रयोग हुँदै आइरहेको छ ।
प्लाज्मा रगतको तरल (पहेँलो) खण्ड हो । यसमा भाइरस, ब्याक्टेरियाबाट हुने संक्रमणलाई मार्ने एन्टिबडीको क्षमता हुन्छ । प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ को आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
उनका अनुसार कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफैँ त्यसविरुद्ध लड्न थाल्छ र त्यो भाइरस समाप्त पार्न एन्टिबडी बनाउँछ । एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल भएपछि बिरामी निको हुने हो ।