बुटवल– रुपन्देहीका सत्तारुढ नेकपा आबद्ध २२ सय ४९ उद्योगी–व्यवसायीले पार्टीबाट अलग भएको घोषणा गरेका छन्।
केही बेरअघि बुटवलमा पत्रकार सम्मेलन गरी उनीहरूले आइन्दा पार्टीसँग संलग्न नरहेको घोषणा गरेका हुन्।
यसरी पार्टी परित्याग घोषणा गर्नेमा रुपन्देही उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम बोहोरा, व्यापार संघका अध्यक्ष यमलाल लोहनी, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुद्र जीसीलगायत छन्।
उद्योग व्यवसायी सम्बद्ध ३७ वटा संघसंस्थाले सामूहिक रूपमा हस्ताक्षर गरी पार्टी परित्याग गरेको पत्रकार सम्मेलनमा बताइयो। पत्रकार सम्मेलनमा रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डेले प्रदेशको राजधानी सम्बन्धी प्रस्ताव फिर्ता नभए पार्टीमा बसिरहनुको कुनै औचित्य नभएको बताए।