काठमाडौं– कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणमा फरार एक व्यक्ति कञ्चनपुरमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–१० गड्डाचौकी क्षेत्रबाट भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको चम्पावत जिल्ला बनवासाका ५५ वर्षीय व्यापारी सुशील गर्ग रहेको प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापाले जानकारी दिए।
‘हामीले गड्डाचौकीबाट पक्राउ गरेका हौं,’ उनले भने, ‘थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएका छौं।’
परिसर काठमाडौंले ह्याकिङ प्रकरणमा संलग्नहरुलाई यसअघि पक्राउ गरेको थियो। पक्राउ परेका भारतीय व्यापारी सुशिल बनवासास्थित मिना बजारमा व्यापार गर्दै आएका थिए।
कृषि विकास बैंक मुख्य कार्यालयको तर्फबाट कानुन बिभागको कायम मुकामय शाखा प्रमुख देबी प्रसाद पोखरेलको जाहेरीले उनी पक्राउ परेका हुन्।
०७६ असोजमा कृषि विकास बैंक लहान शाखाको सिस्टम ह्याक गरी एउटा गिरोहले पाँच करोड रुपैयाँ काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी लुटेको थियो।
अपराधिक ब्यक्तिहरुले संगठित भई अनाधिकृत रुपमा विद्युतीय माध्यमको दुरुपयोग गरि कृषि बिकास बैंकको बित्तिय प्रणालीमा अनाधिकृत पहुच राखी बिभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरेर भुक्तानी लिइ बैंकलाई हानी नोक्सानी पुर्याएका थिए।