काठमाडौं- ताप्लेजुङको ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना गरिएको छ।
फक्तालुङ गाउँपालिका ७ स्थित ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीलगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थितिमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गुल्म ताप्लेजुङ मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरी पैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका काम कारबाहीमा परिचालित हुनेछ।
सीमानाका भन्दा १२ किलोमिटर वर कञ्चनजंगा संरक्षण परिषद्को दुईवटा दुईतले घरमा स्थापना गरिएको बिओपीले आजैबाट दैनिक कार्य शुरू गरेको छ।
सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक बन्दोवस्तीका सामानसहित गुल्मबाट खटिएको टोली १८ असोजमा त्यहाँ पुगेको हो।