काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरी कोरोना संक्रमणमुक्त भएकी छिन्।
पछिल्लोपटक गरिएको उनको पिसिआर परीक्षणको रिपोर्ट शुक्रबार नेगेटिभ आएको हो।
यसअघि स्तन क्यान्सरबाटसमेत पीडित चौधरीलाई १९ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण देखिएपछि उनलाई वीर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
तर, स्वास्थ्यमा समस्या देखिएपछि २३ असोजदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो।
संक्रमणमुक्त भएपछि उनले सामाजिक सञ्जालमार्फत् सबैलाई आभार व्यक्त गरेकी छिन्।
‘संक्रमणबाट जोगिने कति नै कोसिस गर्दा पनि आखिर आक्रमण गरिछाड्यो। पुरै १९ दिनको अस्पताल बसाई र त्यसमा पनि अधिकांश समय आइसियूमा छट्पटिनु पर्दाको पीडा वर्णन गर्न सकिदैन,’ उनले लेखेकि छिन्, ‘पहिले देखिका गम्भीर रोगहरूका कारणले पनि कोरोनाले मलाई यसरी गलाएको हुनुपर्छ। पुराना रोग हुनेहरूलाई बचाउन गाह्रोपर्छ भन्ने सुनिरहेकोले पनि बाँच्छु जस्तै लागेको थिएन। यसको अनुभव कुनै दिन सार्वजनिक गर्ने नै छु। आज कोरोना निगेटिभ भएको नतिजा आयो। लाग्यो मैले पुनर्जीवन पाएँ।’
वीर अस्पत्तालको अति सघन उपचार कक्षको बेडमा बडो मुश्किलले सास फेरिरहँदा आफूलाई एकदम निरीह महसूस गरेको उनले बताएकी छिन्।
बाहिर हजारौं शुभचिन्तकहरू हुनुहुन्थ्यो जसले मेरो शीघ्र स्वास्थ्य लाभको कामना गरिरहनुभएको र मेरो स्वास्थ्यको चिन्ता गर्दै आवश्यक समन्वय र सहजीकरणका लागि प्रयत्न गरिरहनु भएको थियो। तर म हजारौँ शुभचिन्तकहरूको भीडमा एक्लो महसूस गर्थें। यस्तो अनुभव अधिकांश कोरोना संक्रमितले गर्नुभएकै हुनुपर्छ,’ उनले लेखेकी छिन्।
संक्रमणमुक्त भए पनि सचेतक चौधरी अझै केहीदिन अस्पतालमा नै रहने छिन्। बाफ लिँदा तातो पानीले खुट्टा पोलेका कारणले डिस्चार्ज हुन समय लाग्ने छ।
उनले आफू कोरोनामुक्त भए पनि सामान्य दैनिकीमा फर्कन समय लाग्ने बताएकी छिन्।
‘मैले लाखलाख धन्यवाद दिनुपर्ने पार्टीका श्रद्धय कमरेडहरू हुनुहुन्छ। मेरा समर्थक, शुभचिन्तक र नातागोताहरू हुनुहुन्छ। उहाँहरूलाई अहिले एकमुष्ट धन्यवाद दिन्छु,’ उनले लेखेकी छिन्।
वीर अस्पतालका सबै डाक्टरहरू, उपचारमा अहोरात्र खटिने नर्सहरू र अस्पताल परिवारप्रति उनले कृतज्ञता व्यक्त गरेकी छिन्।
‘उहाँहरुले मृत्यूको मुखबाट बाहिर निकालेर मलाई पुनर्जीवन दिनुभयो। बेलाबेलामा हौसला दिइरहनु भयो। विशेष हेरचाह गर्नुभयो र आज म यो स्टाटस लेख्ने अवस्थामा फर्केँ। उहाँहरूका लागि मेरा शब्दले धन्यवाद अपुरो होला,’ उनले फेसबुकमा लेखेकी छिन्।
विजया दशमीको सबैमा शुभकामना दिँदै चौधरीले कसैको परिवारका सदस्यले पनि यो समयमा अस्पताल बस्नु नपरोस भनेकी छिन्।
‘अस्पत्ताल खोज्दै हिड्नु नपरोस। हामी सबैमा यो कोरोनारुपी महाशत्रुमाथि विजय प्राप्त गर्न शक्ति मिलोस,’ उनले लेखेकी छिन्।