काठमाडौं– रियल मड्रिडले ला लिगा २०२०–२१ को पहिलो एल क्लासिकोमा निकट प्रतिद्वन्द्वी बार्सिलोनालाई हराएको छ। बर्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा शनिबार राति सम्पन्न खेलमा रियलले ३–१ गोलको सहज जित निकालेको हो।
प्रतिस्पर्धात्मक खेलमा रियलको जितका लागि फ्रेडरिको भालवर्डे, कप्तान सर्जियो रामोस र लुका मोड्रिचले गोल गरे।
खेलको पाँचौ मिनेटमा करिम बेञ्जेमाले दिएको पासलाई पोस्टतर्फ प्रहार गर्दै २२ वर्षे भालवर्डेले पहिलो गोल गरेका थिए।
त्यसको तीन मिनेट लगत्तै जोडी अल्वाको पासमा १७ वर्षे अन्सू फाटीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले रियलविरुद्ध पहिलो पटक गोल गर्दै एल क्लासिकोमा गोल गर्ने दोस्रो युवा खेलाडी बने भने २१ शताब्दीका सबैभन्दा युवा खेलाडी बनेका छन्।
पहिलो हाफमा खेल बरबरी भए पनि दोस्रो हाफमा रियलले दुई गोल थप्यो। खेलको ६० औं मिनेटमा बार्सिलोनाका लेन्गेटले बलमा भन्दा रोमोसलाई तान्न धेरै ध्यान दिँदै रियलका कप्तानलाई गोल गर्ने अवस्थाबाट लडाएपछि रियलले पेनाल्टी पाएको थियो।
सो पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै डिफेन्डर रामोसले क्लबबाट ७४ गोल पुरा गरेका छन्। उनले रियलबाट ४९९ खेल खेल्दै यो माइलस्टोन पुरा गरेका हुन्।
एक गोलले पछि परेको अवस्थामा बार्सिलोनाले एकैपटक तीन खेलाडी परिवर्तन गरे पनि खेलमा फर्कन सकेन। ८१ औं मिनेटमा उसका खेलाडी एन्टोनी ग्रिजम्यान, फ्रान्सिस्को, आउसमान डेम्बेले मैदान पसेका थिए भने ८७ औं मिनेटमा मार्टिन ब्रेथवेटलाई पठाइएको थियो।
तर निर्धारित समयको अन्तिम मिनेटमा रियलको मिडफिल्डर मोड्रिचले रोड्रिगोको पासमा गोल गर्दै जितलाई ३–१ मा पुर्याए।
भिनिसियस जुनियरले प्रहार गरेको बल बार्सिलोनाको किपर नेटोको हातबाट फुत्किएपछि रोड्रिगोले मोड्रिचलाई पास दिएका थिए। उनले दिएको पासलाई फेरि नेटोको आँखा छलेर मोड्रिचले खाली पोस्टमा प्रहार गर्दै अन्तिम गोल गरे।
जितसँगै रियल मड्रिड शीर्षस्थानमा छ। उसले ६ खेलबाट १३ अंक जोडेको छ भने पराजित बार्सिलोना पाँच खेलमा २ जित निकाल्दै १० औं स्थानमा छ।
२०२० मा यसअघिको एल क्लासिकोमा रियलले बार्सिलोनाविरुद्ध २–० गोलको जित निकालेको थियो। उसले २००७–०८ को सिजनपछि पहिलोपटक लगातार दुई एल क्लासिकोमा जित निकालेको हो। यो वर्षको पहिलो एल क्लासिको मार्च १ मा भएको थियो।