काठमाडौं– तिहार सुरु हुन करिब दुई हप्ता बाँकी छ। तर, तिहारको लागि रोपिएको सयपत्री र मखमली फुलिसकेको छ। मखमली बारीबाटै बिक्री सुरु भएको छ। सयपत्री भने चाँडै ओइलाउने भएकाले किनिसकेका छैनन् उपभोक्ताले।
अधिक मासका कारण यस वर्ष दसैंतिहार एक महिना पछाडि सरेको छ। त्यसैले फूलखेतीको तालमेल नमिलेको हो। चाड आउनु निकै अघि फूल फुल्दा यसपटक फूलको बजार प्रभावित हुने अनुमान छ। अगाडि नै फुल्दा तिहारलाई फूल अपुग हुने चिन्ता व्यवसायीलाई छ। कतिपय व्यवसायीले भने क्यालेन्डरअनुसार नै ढिलो फुल्ने गरी खेती गरेका छन्।
त्यसो त कोरोना महामारीका कारण यस वर्ष विगतका वर्षमा जस्तो फूलखेती भएको छैन। टनेलमा फूल लगाउने धेरैले तरकारी लगाएका छन्। हरेक वर्ष तिहारको समयमा फूलैफूलले सजिने भक्तपुरको गुण्डु क्षेत्रमा यसवर्ष रौनक छैन। कोरोनाका कारण लकडाउन भएकाले बिक्री नहुने आशंकामा किसानहरुले फूल कम लगाएको गुण्डुका व्यवसायी रामशरण थापा बताउँछन्।
गुण्डु क्षेत्रका किसानले फूलको माला, गुच्छा र थुँगा बिक्री गर्दै आएका छन्। अघिल्लो वर्ष एक गुच्छा फूलको १५ रुपैयाँको दरले बिक्री गरेका किसानले यो वर्ष कम मूल्यमा बेच्न खोज्दा पनि ग्राहक पाउन सकेका छैनन्। कोरोनाका कारण अधिकांश मठमन्दिर दर्शनार्थीका लागि बन्द हुँदा पनि फूलको व्यापारमा असर परेको थापा बताउँछन्।
थापाले गत वर्ष दुई रोपनीमा फूल लगाएका थिए। तर, यसपालि आधा रोपनीमा मात्रै सीमित गरेका छन्। ‘यसवर्ष तिहार पनि ढिला भएको र कोरोनाले फूल बिक्री होला कि नहोला भन्ने सोचेर मकैबारीभित्रै केही फूल रोपेको थिएँ,’ उनले भने, ‘पोहोरतिर दसैँको टीकाको दिनबाटै फूल बिक्न सुरु हुन्थ्यो। यसपालि बल्ल एकादुई मानिस आएका छन्।’
भक्तपुरको गुण्डु क्षेत्रसँगै काठमाडौंको इचंगु, ललितपुरको गोदावरी, दक्षिणकाली लगायतका क्षेत्रमा फूलखेती हुनेगर्छ। यस क्षेत्रका किसानको वैकल्पिक आयको स्रोत हो फूल। किसानले सयपत्री, मखमली र गोदावरी फूल उत्पादन गर्दै आएका छन्। तर, व्यावसायिक रुपमा फूल खेती गर्दै आएका व्यवसायीहरुलाई फूल बिक्री नभएपछि चिन्ता थपिएको छ।
गोदावरी–३ ललितपुरका कमल सुब्बाले यस वर्ष १० रोपनी जग्गामा सयपत्री फूलमात्रै लगाएका छन्। विगतका वर्षमा कटफ्लावर लगाउँदै आएका सुब्बाले यो सिजनमा ६० लाखभन्दा बढी आम्दानी गर्थे। तर यस वर्ष आम्दानी छैन।
भन्छन्, ‘फूलखेती गरेको १६ वर्ष भयो, यस्तो घाटा कहिल्यै भएको थिएन। कटफ्लावर विदेश निर्यात हुन्थ्यो। विवाह, पार्टी प्यालेसमा प्रयोग गरिन्थ्यो। तर, ८ महिनादेखि यो सबै ठप्प छ।’
फूल व्यवसायीहरुको संगठन फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठ कोरोनाका कारण व्यापार–व्यवसाय, आम्दानी, मानिसको क्रयशक्ति सबै घटेकाले त्यसको असर फूल व्यवसायमा पनि परेको बताउँछन्।
उनका अनुसार पछिल्ला वर्षहरुमा प्रत्येक वर्ष करिब १५ प्रतिशत बजार बढिरहेकोमा यसवर्ष उल्टो घटेको छ। गत वर्ष तिहारमा २५ लाख थान सयपत्री र मखमलीको मालाको माग भएकोमा यस वर्ष १५ लाखमात्र माग हुने अनुमान एसोसिएसनको छ।
३ लाख मखमली र १२ लाख सयपत्री मालाको माग हुने अध्यक्ष श्रेष्ठको आँकलन छ। उत्पादन कम भए पनि माग पनि कम हुने भएकाले आन्तरिक उत्पादनले नै माग पूर्ति गर्न सक्ने श्रेष्ठले बताए। विगतका वर्षमा तिहारका लागि भारतबाट ठूलो परिमाणमा फूल तथा माला आयात हुने गरेको थियो।
तस्बिरहरू ः दिनेश श्रेष्ठ